दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीको नाफा ३ अर्ब



काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ जीवन बीमा कम्पनीहरुले करिव साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् । गत आवको तुलनामा मुनाफा १४.८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरुले कुल ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा बीमा कम्पनीहरुको नाफा १४.८५ प्रतिशतले बढेको छ।

कसको कति ?
सर्वाधिक नाफा आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल लाइफले ४६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको नाफा ९.४५ प्रतिशतले बढेको छ। वृद्धिदरका हिसाबले सिटिजन लाइफ अगाडि रहेको छ।

दोस्रो नम्बरमा रहेको हिमालयन लाइफको मुनाफा ८.७३ प्रतिशतले वृद्धि भई ३४ करोड ६० लाख रुपैयाँबाट ३७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफले यस अवधिमा कम्पनीले ३५ करोड तीन लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सन नेपाल लाइफले २८ करोड २२ लाख रुपैयाँ, नेसनल लाइफले २७ करोड ९१ लाख रुपैयाँ, आइएमई लाइफले २६ करोड ७८ लाख रुपैयाँ, एसियन लाइफले २५ करोड ३ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा सन नेपाल लाइफको नाफामा १४.०५ प्रतिशतको संकुचन आएको छ भने नेसनल लाइफको ९.४० प्रतिशत, आइएमई लाइफको १४.१२ प्रतिशत, एसियन लाइफको ५६.५५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ५.४४ प्रतिशतले बढेको छ।

पुससम्म सिटिजन लाइफले २३ करोड ९ लाख रुपैयाँ, मेट लाइफले २२ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपालले १४ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ८० लाख ६५ हजार नाफा कमाएका छन्।

अघिल्लो वर्षको तुलनामा सिटिजन लाइफको नाफा ८६.७८ प्रतिशत, मेट लाइफको १४.८१ प्रतिशत, सूर्यज्योति लाइफको ३.३७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.४९ प्रतिशत र एलआईसी नेपालको ३.८१ प्रतिशतले बढ्दा राष्ट्रिय जीवन बीमा कम्पनीको ४३.५५ प्रतिशतले घटेको छ।