निर्जीवन बीमकको ७९ प्रतिशत लगानी बैंकहरुको मुद्दतिमा, सिद्धार्थ प्रिमियरकाे मात्रै ६ अर्ब माथि


काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।८२ दोस्रो त्रैमास (साउन–पुस) सम्म करिब पौने ६९ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । जसमा कुल लगानीको सवा ७९ प्रतिशत लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेकाे छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६८ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ लगानी गरेका हुन् । जसमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ५३ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ लगानी गरेका छन् । समिक्षा अवधिमा कुल लगानी ७७.७६ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा रहेको देखिएको छ ।

पुस मसान्तसम्म र्निजीवन बीमकहरुले क वर्गका बैंकहरुमा ४६ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ, ख वर्गका बैंकमा ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब १६ करोड ६३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् । यसैगरी, बीमकहरुले सरकारी बचतपत्र तथा ऋणपत्रमा ५२ करोड २१ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब ३९ करोड ७ लाख रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब ५ करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८३ करोड ३९ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १२ करोड ७ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ९६ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, निर्जीवन बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब १५ करोड ४१ लाख रुपैयाँ र अन्य क्षेत्रमा २ अर्ब २९ करोड २९ लाख रुपैयाँ लगानी गरेका छन् ।

विभिन्न क्षेत्रमा धेरै लगानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले कुल ८ अर्ब ६१ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले ८ अर्ब १२ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । यसैगरी धेरै लगानी गर्ने तेस्रो निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । नेको इन्स्योरेन्सले ६ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, मुद्दती निक्षेपमा धेरै लगानी गर्नेमा दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको देखिन्छ । यो कम्पनीले हालसम्म मुद्दती निक्षेपमा ६ अर्ब १२ करोड रुपैयाँ लगानी गरेको छ ।

यस्तै, यसअवधिमा प्रभु इन्स्योरेन्सले ६ अर्ब ५ करोड, नेको इन्स्योरेन्सले ४ अर्ब ६६ करोड, सगरमाथि लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ८ करोड, आइजीआई प्रुडेन्सीयलले ३ अर्ब ४३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ३ अर्ब १७ करोड र नेपाल इन्स्योरेन्सले ३ अर्ब १२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

युनाइटेज अजोड इन्स्योरेन्सले २ अर्ब ८२ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दा सानिमा जिआइसीले २ अर्ब ६९ करोड, शिखर इन्स्योरेन्सले २ अर्ब ४० करोड, नेशनल इन्स्योरेन्सले २ अर्ब र एनएलजी इन्स्योरेन्सले १ अर्ब ८१ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको देखिन्छ ।