च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने


ललितपुर – ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल दुई करोड रूपैयाँ आवश्यक हुने बताएका छन् । 

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड रूपैयाँ बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर पूर्ण सुनदासले बताए । उनले भने, ‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश व्यञ्जनकार ललितपुर महानगरपालिका-९  वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरोकार भएकाहरू मौन रहेकामा उनी दुःखी छन्  । खेलकुद परिषद्सँग १० लाख रूपैयाँ माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ । 

ललितपुर महानगरपालिका-९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए । दशरथ रंगशालाको विकल्पका रूपमा परिषद्ले २८ करोड रूपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।