काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्त्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको, हरेक चिजको एउटा अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको छ।’
प्रधानमन्त्री ओलीले नेपालले तीव्रताका साथ विकासका कामहरु अघि बढाइरहेको उल्लेख गर्दै आइटी क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताए । उनले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भए पनि अहिले विकास निर्माणका कामले गति पाएको बताए ।
देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको समेत प्रधानमन्त्री ओलीले बताए । प्रतिकूल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढंगले लयमा फर्काउन, गतिशील बनाउन सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकारल अघि बढेको बताए । पूर्वाधारबिना देशको विकास हुन नसक्ने बताए ।



About Us
प्रतिक्रिया