एजेन्सी – अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण आगलागीका कारण युरोपेली पुनर्बीमा कम्पनीमा अर्बौ डलरको भार पर्ने भएको छ । क्यालिफोर्नियाको लस एन्जल्समा लागेको अनियन्त्रित डढेलोका कारण युरोपेली पुनर्बीमा कम्पनीको बीमा ‘पोर्टफोलियो’मा उल्लेख्य प्रभाव पर्ने भएको हो ।
सामान्यतया विश्वभर पुनर्बीमा विदेशी कम्पनीमा गर्ने प्रचलन हुन्छ । अझै अमेरिकामा विगतदेखि नै विदेशी कम्पनीमा पुनर्बीमा गर्ने चलन छ । सन् २००१ मा ट्वीन टावरमा भएको हमलाबाट समेत अमेरिकी पुनर्बीमा कम्पनीलाई ठुलो भार परेको थिएन ।
सम्पत्तिको बीमाको पुनर्बीमा विदेशी कम्पनीमा गर्दा कुनै पनि क्षतिमा देशको अर्थतन्त्रले थेग्नै नसक्ने गरी भार बोक्नुपर्दैन । यहीकारण, ट्वीनटावरमा भएको आक्रमणको पुनर्बीमा अमेरिकाभन्दा बाहिरका कम्पनीहरुले ब्यहाेरेका थिए । यही नीतिअनुसार लस एन्जल्सको २५० अर्ब डलरभन्दा बढीको क्षतिको पुनर्बीमामा युरोपेली कम्पनी प्रभावित बन्ने भएका हुन् ।
रेटिङ्स कम्पनी फिचका अनुसार युरोपेली पुनर्बीमा कम्पनीको सन् २०२५ को प्राकृतिक प्रकोपका लागि छुट्याइएको बजेटको २५ प्रतिशतसम्मको भार पर्न सक्ने आकलन गरेको हो । ‘सन् २०२५ का लागि युरोपका पुनर्बीमाकर्ता कम्पनीले विनियोजन गरेको बजेटको २५ प्रतिशतसम्म भार पर्न सक्छ,’ फिच रेटिङ्स लेख्छ, ‘यद्यपी, कम्पनीहरुको जोखिम भार आकलनको क्षमताका कारण यो भार कम्पनीहरूलाई जोखिमभन्दा बाहिर हुन सक्ने हाम्रो आकलन छ ।’
लस एन्जल्समा लागेको अनियन्त्रित आगोका कारण भएको ऐतिहासिक क्षतीसँगै पुनर्बीमा कम्पनीले ब्यहोर्ने क्षति समेत उच्च हुने अन्तर्राष्ट्रियस्तरमा आकलन भइरहेको छ । यस क्षतिबाट विश्वव्यापीरुपमा पुनर्बीमाकर्ताको न्यूनतम २५ बिलियन अमेरिकी डलरदेखि अधिकतम ४५ बिलियन डलरसम्मको क्षति हुन सक्ने आकलन फिच रेटिङ्सको छ ।
युरोपेली पुनर्बीमा कम्पनीहरुले सन् २०१८ को आगलागीबाट ब्यहोरेको क्षतिबाट पाठ सिक्दै क्यालिफोर्नियाको जोखिम घटाएका छन् । कम्पनीहरुले ‘वाइल्ड फायर’को जोखिमयुक्त क्षेत्रबाट व्यवसाय नै घटाएका छन् । यसका बाबजुद पनि युरोपका कम्पनीले सन् २०२५ मा छुट्याएको कूल प्रकोप बजेटको २५ देखि ३० प्रतिशतसम्मको भार आइपर्ने अनुसन्धानहरूले देखाएका छन् ।
यो आगलागीबाट विश्वभरका पुनर्बीमालाई ३५ बिलियन अमेरिकी डलरको भार थपिएमा युरोपका ४ ठुला पुनर्बीमा कम्पनीमाथि पर्ने उल्लेख्य दायित्व थपिनेछ । स्वीस रि, म्युनिख रि, ह्यानओभर रि र स्कोर जस्ता ठुला ४ युरोपेली पुनर्बीमा कम्पनीलाई यो आगलागीबाट अत्यधिक दायित्व श्रृजना हुने बताइएको छ ।





About Us
प्रतिक्रिया