चितवन– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो। यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन्।
उनीहरुबाट दुई करोड ८२ लाख २१ हजार नौ सय १६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रमुख श्रेष्ठका अनुसार एक हजार छ सय ६८ जना ग्राहकबाट चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ रुपैयाँ बक्यौता उठाउन बाँकी थियो। वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ।
उनीहरुबाट एक करोड पाँच लाख ४६ हजार एक सय ८८ रुपैयाँ बक्यौता उठाउन बाँकी छ। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने ‘नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई खराबसूचीमा राख्ने प्रावधान छ ।’
प्रतिक्रिया