धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन


अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड १ लाख २ हजार ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो।

सो अवधिमा सम्पत्ति करबाट १ करोड ९२ लाख ६७ हजार, भूमिकररमालपोतबाट १ करोड २३ लाख ६८ हजार रुपैयाँ, बहालकरबाट ३ करोड ५२ लाख ८३ हजार रुपैयाँ, अन्य राजस्वबाट ३ करोड ५२ लाख १२ हजार रुपैयाँ, व्यवसाय करबाट २ करोड ७९ लाख ७९ हजार रुपैयाँ र नक्सापास दस्तुरबाट १ करोड ६५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।

उनका अनुसार सिफारिस दस्तुरबाट ८३ लाख ५६ हजार रुपैयाँ, सरकारी सम्पत्तिको बहालबाट ४६ लाख ८३ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३८ लाख ६१ हजार रुपैयाँ, बेरुजुबापत १३ लाख ४२ हजार रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट १३ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

व्यक्तिगत घटना दर्ताबाट ७ लाख ७ हजार, परीक्षा शुल्कबाट ७ लाख १६ हजार रुपैयाँ, अन्य सामग्री बिक्रीबाट २ लाख ३४ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट २ लाख ९ हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानीबाट १ लाख ७९ हजार रुपैयाँ, न्यायिक दस्तुरबाट २ हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट सङ्कलन भएको उनले जानकारी दिए ।

राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत आवको सो अवधिको तुलनामा चालु आवमा ९५ लाख ७ हजार ८ सय ७९ रुपैयाँले बढी राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

उपमहानगरले गत आवको छ महिनामा १६ करोड ५ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको ओझाले जानकारी दिए । राजस्व सङ्कलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व सङ्कलन वृद्धि भएको उनको भनाइ थियो ।