‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’

‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’


सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारीमा गए । खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य भए । उनी विगत तीन वर्षदेखि ह्विलचियरको सहारामा छन् ।

घरका एक मात्र सहारा उनको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ । २०७७ साल ७ माघमा उनी वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया गएका थिए । वि.सं. २०७८ पुस २९ को राति कामबाट फर्किएपछि उनी साथीसँगै बजार गएका थिए । बजारबाट फर्कने क्रममा उनले चलाएको गाडी दुर्घटनामा परेपछि उनको जीवनले नसोचेको मोड लियो । नेपालमा हुँदा पनि सवारीचालकको काम गरेका उनले विभिन्न निर्माण कम्पनीका टिपर, स्कुल बस चलाएका थिए । त्यसबाट घरपरिवारको गुजारा चलाउन समस्या भएपछि परिवारको सल्लाहमा उनी साउदी पुगेका थिए ।

‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’, उनले भने, ‘तर दुर्घटनापछि कम्पनीले पनि लापरबाही गरेका कारण मेरो यो अवस्था भयो ।’ राति १ बजे दुर्घटनामा परेका उनलाई प्रहरीले तत्काल अस्पताल पुर्‍याएको थियो । ६ घण्टापछि मात्र होस आयो । ‘बिहान अस्पतालको बेडमा थिएँ,’ उनले भने, ‘शरीर अररो परेको थियो । हातले पानीको गिलाससमेत नसमाएपछि एक जना नेपाली नर्सले पानी खुवाइदिनुभयो ।’

उनको गर्दनमा शल्यक्रिया गरेर स्टिल राखिएको छ । उनलाई सुरुमा दुर्घटनामा परेर शरीरमा समस्या भयो, पछि ठीक हुन्छ भन्ने लागेको थियो । तर पछि चिकित्सकले गर्दनको हड्डी भाँचिएको र एउटा नसामा चोट लागेकाले शरीर पहिलाजस्तो नहुन सक्छ भनेपछि छाँगाबाट खसेजस्तै भएको उनले बताए । ‘दुई वर्षकी छोरी छाडेर परिवारको खुसी कमाउन गएको थिएँ अब बाँकी जीवन अरुको सहारामा गुजार्नुपर्ने भएर आएँ,’, उनले भने ।

सुरुमा त अब बाँकी जीवन के हुने ? भन्ने चिन्ताले धेरै सतायो । धेरै रात भोक न निद्रा भएर बिताए । विदेशमा हुँदा सारा एक्लोझै भयो । घर आएपछि श्रीमती र छोरीको अनुहारले निकै समय लखेटिरह्यो । अहिले आफूलाई सम्हाल्ने प्रयास गरिरहेको उनले बताए । विगतका दिन सम्झँदा उनका गला घरिघरि अवरुद्ध हुन खोज्दै थिए । अझै पनि शरीरको अवस्थाअनुसारको कर्म गरेर बाँकी जीवन पनि परिवारको सहारा बन्ने उनको भनाइ छ ।

सुरुमा कम्पनीले उपचारमा केही चासो देखाएजसो गरे पनि पछि वास्ता गर्न छाडेको उनको भनाइ छ । ‘नौ महिनासम्म कम्पनीले बेवारिस अवस्थामा अस्पतालमा छाड्यो, शरीर चल्दैन थियो । अरुले ओल्टाइपल्टाइ गर्नुपर्ने अवस्था थियो । नर्सहरू दिनमा एक वा दुईपटक मात्र आउने गर्थे । औषधि दिएर जान्थे । खाना ल्याएर राखिदिन्थे । हातसमेत नचलेर खान सक्दिनँ थिए । कोही आउने आशमा बस्नुपर्‍यो,’ उनले भने ।

‘कम्पनीले वास्ता गर्न छाडेपछि, औषधि नगर्ने भए मलाई घर पठाइदेउ भनेर कम्पनीमा भनेँ, तर कम्पनीले वास्ता गरेन । हारगुहार गरेपछि युकेमा रहनुभएका भान्जाको प्रयासमा दूतावासका कर्मचारीले कम्पनीलाई ताकेता गरे । त्यसपछि कम्पनीले अस्पतालबाट निकालेर १५ दिनपछि नेपाल पठाइदियो,’ उनले भने । सुरुमा आफूले साउदीस्थित नेपाली दूतावासमा धेरैपटक अनुनयविनय गर्दा पनि वास्ता नगरेको उनको दुखेसो छ ।

उनलाई समयमै अस्पतालबाट उद्धार गरेको भए शरीर केही भाग चल्थ्यो कि भन्ने चिन्ताले अहिले पनि सताइरहन्छ । बिरानो देशमा अस्पतालमा काटेको नौ महिना एक युगजस्तो लागेको उनको अनुभव छ । नेपाल आएपछि परिवारले उनलाई सिधै अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं पुर्‍यायो । त्यहाँ तीन महिना बसेर उपचार गर्दा पनि कुनै सुधार नभएपछि घर आएको उनको भनाइ छ । अस्पतालमा गर्ने गरेका केही कसरत उनी घरमा पनि नियमित गरिरहेका छन् ।


आफू आधा शरीर नचल्ने भएर अरुको सहारामा उठ्नबस्न पर्ने अवस्थामा पुगेपछि एउटा छोरीको पढाई र परिवारको गुजारामा पनि समस्या भएको उनको भनाइ छ । ‘सम्पत्तिका नाममा पुर्ख्यौली ६ कट्ठा खेत र साढे आठ धुर घडेरी पाएको थिएँ’, उनले भने, ‘बिमाबाट आएको पैसाबाट बाँस बस्ने समस्या भएपछि एकतले काठको घर बनाएँ । खेतको उत्पादनले मुस्किलले आधा वर्ष खान पुग्छ । छोरीको पठनपाठन, केही उपचार खर्च कसरी जोहो गर्नु ?’

श्रीमती एक्लैले गरेको कामबाट परिवारलाई हातमुख जोर्न सधैँ समस्या भएको भन्दै उनले आफूले सकेको काम गरेर परिवारलाई सघाउने चाहना रहेको बताए । ‘शारीरिक रूपमा अशक्त व्यक्तिहरूले क्षमताअनुसार काम गरेर परिवारलाई सहयोग गरेको देखेसुनेको छु’, उनले भने, ‘मलाई पनि केही गर्ने चाहना छ । आफूसँग लगानी छैन । कसैले कतैबाट सहयोग गरिदिए समाजको उदाहरणीय पात्र बन्ने थिएँ ।’

पौडेलले वैदेशिक रोजगार विभागबाट पाउने छात्रवृत्ति पनि नपाएको गुनासो गरे । वैदेशिक रोजगारमा अङ्गभङ्ग भएका वा ज्यान गुमाएकाका बालबालिकाले उच्च शिक्षासम्म पठनपाठनका लागि छात्रवृत्ति पाउने व्यवस्था भए पनि आफूले नपाएको उनले बताए । ‘छात्रवृत्ति पाइन्छ भन्ने थाहा पाएपछि कागजात लिएर गएको थिएँ’, उनले भने, ‘तपाईंको बिमाबापतको रकम पूरा भएको छैन, पाउनुहुन्न भनेपछि फर्किएँ । त्यत्ति पाएको भए पनि छोरीको पठनपाठनका लागि थपथाप हुने थियो ।’

पौडेलको आठ वर्षकी छोरी गाउँ नजिकैको एक विद्यालयमा बाल कक्षामा अध्ययन गर्छिन् । श्रीमतीले आफू र छोरीको स्याहारपछि बाँकी समय पशुवस्तु र खेतीपाती गरेर दुई छाकको जोहो गरिरहेको उनले बताए । कक्षा ९ सम्म अध्ययन गरेकी सविना पौडेलले श्रीमान् शारीरिक रूपमा अशक्त भए पनि आफूले अवसर पाए छोरी र श्रीमानका लागि सहारा बनेर गुजार गर्ने वातावरण बन्ने बताइन् ।

स्थानीय तहसँग आवश्यक सहयोगका लागि पटकपटक ताकेता गरेको उनले बताइन् । ‘मैले कार्यालय सहयोगीको कामका लागि फारम पनि भरेँ । खै के भयो काम भएन । कुनै व्यावसायिक तालिम र लगानी पाए काम गर्ने थिएँ,’ उनले भनिन् । यसरी विभिन्न दुर्घटनामा परेर समस्यामा परेकालाई सहज जीवन गुजाराका लागि स्थानीय सरकारले केही व्यवस्था गर्नुपर्ने उनको माग छ ।

उक्त वडाका अध्यक्ष दुर्गाबहादुर आलेले वडामा त्यस्तो कुनै बजेट नहुने बताए । यस्ता विपन्न नागरिकका लागि नगरपालिकाले नै आयआर्जनका कार्यक्रममा समेट्ने गरेको छ । ‘वडामा त्यस्तो योजना तथा बजेट हुँदैन’, उनले भने, ‘यस्तो अवस्थामा नगरले नै व्यवस्थापन गर्ने गरेको छ । मैले पनि उहाँहरूको समस्याका लागि पहल गरिरहेको छु । हेरौँ केही गर्न सकिन्छ कि ?’ प्रधानमन्त्री रोजगारी तथा अन्य सहयोगको लागि पनि सोचिरहेको उनले बताए ।