उदयपुर – त्रियुगा नगरपालिका–११ स्थित बरूवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्ध निर्माण सुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरूवा नदी कटान स्थानबाट स्थायी तटबन्ध निर्माण सुरू गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्ध निर्माणकार्य सुरू भएको हो । गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरूवा खोलाको पुलसम्म झण्डै डेढ किलोमिटर लामो तटबन्ध निर्माण औपचारिक रूपमा सुरू भएको छ ।
सङ्घीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयले रू एक करोड बजेट व्यवस्थापन गरेपछि ६० मिटर लम्बाइको पक्की तटबन्ध निर्माण गरिन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बस्नेतले बताए । रू एक करोडसम्मको बजेट योजना उपभोक्ता समिति गठन गरेर सञ्चालन गर्न सकिने हुनाले तटबन्ध निर्माणकार्य यहाँका स्थानीयको अगुवाइमा उपभोक्ता समिति गठन गरेर सुरू भएको हो ।
यसपटकको बजेटले ६० मिटर तारजाली ढुङ्गासहितको तटबन्ध निर्माण हुने र स्थायी कलभर्ट निर्माण गर्न लागिएको त्रियुगाले जनाएको छ। शिवालय, साकेलासहित सङ्गम टोल बर्सेनि बरूवा नदी कटानको उच्च जोखिममा परेपछि तटबन्ध निर्माण सुरू गरिएको हो । यसबाट गाईघाट क्षेत्रका आठवटा टोलका झण्डै १० हजार बासिन्दा कटानको जोखिमबाट सुरक्षित हुने अवस्था रहेको बताइन्छ ।
विसं २०२९ मा पहिलोपटक बरूवा नदीले यस क्षेत्रमा कटान गर्दा यहाँका ६० घर विस्थापित भएका थिए भने गाईघाट बजारसहितका सय घरपरिवार विस्थापित भएको त्रिुगा नगरपालिकाले जनाएको छ । यस्तै, २०३७ सालको कटानले ४० घर विस्थापित भएका थिएभने २०५७ सालको कटानले १० घर विस्थापित भएका थिए ।
त्यसपछिका दिनमा अस्थायी तटबन्ध निर्माण गरेर तत्कालका लागि कटान रोक्ने काम हुँदै आएको त्रियुगा नगरपालिकाले बताएको छ । बजेटको अभावमा त्रियुगा नगरपालिका, सङ्घीय सांसदसहितको सहयोग तथा पहलमा बजेट व्यवस्थापन सुरू भएपछि अब ५० वर्षपछि बरूवा नदीमा स्थायी तटबन्ध निर्माण सुरू भएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया