लमजुङमा बढ्यो धान उत्पादन

लमजुङमा बढ्यो धान उत्पादन


लमजुङ – लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा नौ हजार तीन सय एक हेक्टरमा धानखेती गरिएकामा ३१ हजार एक सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । जबकी गत आवमा सोही क्षेत्रफलमा २८ हजार छ सय ४७ मेट्रिटन धान उत्पादन भएको थियो । गत आवको तुलनामा चालु आवमा दुई हजार पाँचसय ११ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८/७९ मा ३० हजार छ सय ९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४ हजार चारसय २५ मेट्रिकटन, आव २०७६/७७ मा ४४ हजार एकसय ५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४ हजार पाँचसय ४५ मेट्रिकटन आव २०७४/७५ मा ४३ हजार आठसय ३० मेट्रिकटन धान उत्पादन भएको थियो ।

जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ ।