अध्यादेशमार्फत लगानीसम्बन्धी कानून संशोधनः निजी क्षेत्रका छाता संगठनले गरे स्वागत

अध्यादेशमार्फत लगानीसम्बन्धी कानून संशोधनः निजी क्षेत्रका छाता संगठनले गरे स्वागत


काठमाडौं – मुलुकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिवृद्धि एवं सार्वजनिक सेवा प्रवाहमा सुशासन प्रवाह गर्न हालै कानुनहरुमा गरिएको संशोधनलाई नेपाल उद्योग परिसंघ स्वागत गरेको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत ११ वटा कानून संशोधन गरेपछि परिसंघले स्वागत गरेको हो ।

यस्तै, सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत १२ वटासहित जम्मा २४ वटा कानुनहरुमा गरिएको संशोधनले मुलुकमा लगानी अभिबृद्धि गर्न सहयोग पुग्ने परिसंघको बुझाइ छ । परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धि विस्तृत अध्ययनसहितको सुझाव सरकारलाई बुझाएको थियो । समृद्ध अर्थतन्त्र निर्माणका लागि कानुनमा सुधार अपरिहार्य रहेको अवस्थामा सरकारले केही कानुनहरुमा गरेको सुधारका लागि परिसंघ नेपाल सरकारलाई कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि समेत आग्रह गरेको छ ।

हाल बजारको समग्र मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरुको खस्कदो मनोबललगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानुनहरुमा गरिएको सुधारले लगानीकर्तामा सकारात्मक सन्देश जाने परिसंघको विश्वास छ । यद्यपी गएको बैशाखमा सम्पन्न लगानी सम्मेलनको पूर्व सन्ध्यामा केही कानुनहरुमा संशोधन गरिएतापनि समयमै आवश्यक नियमावली तथा कार्याविधि नबन्दा सुधार गरिएका कानुनहरुबाट अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेको निष्कर्ष परिसंघको छ ।