जीवन विकासको अध्यक्षमा विक्रमराज सुवेदी 

जीवन विकासको अध्यक्षमा विक्रमराज सुवेदी 


विराटनगर – जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा विक्रमराज सुवेदी चयन भएका छन् । आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । 

जीवन विकासको संस्थापक समूहबाटको प्रतिनिधित्व गर्ने सुबेदी यसअघि पनि अध्यक्ष थिए । आइतबार केन्द्रीय कार्यालय कटहरिमा भएको छैंटौं साधारण सभामा संस्थापक समूहबाट चार सञ्चालक सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा सुवेदीसँगै श्रेष्ठ, खतिवडा र देव दोस्रो कार्यकालका लागि विजयी भएका  हुन् । 

निर्वाचित सञ्चालक समितिको पदावधि चार वर्षको हुनेछ । सञ्चालकको निर्वाचनमा संस्थापक सेयर सदस्यहरूले मतदान गर्न पाउँछन् ।  लघुवित्तको केन्द्रीय कार्यालयमा भएको साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

जीवन विकास समाजद्वारा प्रवर्धित जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० वटा शाखा मार्फत ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । जीवन विकासको कुल सम्पत्ति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार छ । १० अर्ब ५३ करोड ३० लाख निक्षेप सङ्कलन गरेको जीवन विकासले २७ अर्ब २१ करोड ४४ लाख  ५० हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।