काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८०/८१ को आफ्नो तेह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ आसार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यसपछि एनसीएचएलको चुत्ता पुँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ हुनेछ । साथै, बैठकले अधिकृत पूँजी वृद्धि गरी २ अर्ब २५ करोड रुपैयाँ पुर्याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धीमार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीबाट फछ्र्यौट भएका कारोबारको संस्था ५४ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ । उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १५६ खर्ब बराबरको १२.६ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो ।
बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्विरोध रुपमा पुनः निर्वाचित गरेको छ । वाणिज्य बैंकहरुबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुन निर्वाचित बनेका छन् ।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व छ ।
प्रतिक्रिया