गुल्मी – गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिकस्तर समेत वृद्धि हुँदै जान थालेको छ ।
जिल्लामा सबैभन्दा धेरै किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्छ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टर क्षेत्रमा किबीको व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । यो वर्ष त्यहाँका किसानले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय किसान एवं वडासदस्य यमबहादुर थापाले जानकारी दिए । भार्सेमा उत्पादित किबी स्थानीय बजार तथा पाल्पा र बुटवलसम्म पुग्ने गर्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्सेमा उत्पादित किबीको औषत मूल्य दुई सय छ । यहाँका किसानको मुख्य आम्दानी यतिबेला किबीखेती बनेको छ ।
सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किबीखेतीको व्यावसायिक उत्पादनका लागि किसानलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताए । यस वर्ष पनि गाउँपालिकाबाट नर्सरी स्थापना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए ।
भार्सेका किसान यमबहादुर थापाले व्यावसायिक रूपमा किबीखेती गर्दै आएका छन् । उनले लगाएका एक सय ५० बोटमध्ये एक सय ३० बोटले फल दिन थालेको बताए । यसपटक थापाले २५ क्विन्टल किबी स्थानीय बजार हुँदै पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाइसकेका छन् । गत वर्षको तुलनामा यसपटक उत्पादन बढेसँगै किबीको मूल्य घटेको उनको भनाइ छ । उनको बारीमा ‘रेडकिबी’, ‘हेवार्ड’, ‘एलिसन’, ‘ब्रुनो’ गरी चार जातका किबी रहेका छन् ।
जिल्लामा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालिकालगायत कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोटलगायत पालिकामा किबीको व्यावसायिक खेती गर्न थालिएको छ । किबी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किबीमा भिटामिन ‘सी’ धेरै हुने भएका कारण यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबरसमेत पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादका रूपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।
प्रतिक्रिया