बैंकिङ्ग समाचार, काठमाडौं ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।
सर्वसाधारणमा पहिलो चरणमा स्थानीयका लागि आईपीओ निष्कासन गर्दा वितरण हुन नसकेको ३७ हजार ६२३ कित्तासहित कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ जारी गरिएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । यी वाहेक बाँकी २१ लाख ७६ हजार ९४० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २१ लाख कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । छिटोमा साउन १ गतेसम्म विक्रीमा रहने मिति तय भएको यो आईपीओ खरीदका लागि सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन ११ गतेसम्म विक्री खुला गरिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाइ दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयरको वेब तथा एपमार्फत पनि यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीमा संस्थापक तर्फ ५२ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ भने पछिल्लो समय आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणमा ३८ प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार कायम हुनेछ ।
यस कम्पनीले रुकुम पूर्वी जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । साउन १ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य सहित आयोजनाको निर्माण कार्य भईरहेको कम्पनीले जानकारी दिएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत रू. २६ करोड ६८ लाख ८५ हजार छ भने कुल लागत रू. १ अर्ब ३३ करोड ४४ लाख २८ हजार हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया