विश्व बजारमा क्रिप्टोकरेन्सीको प्रयोग तीव्ररूपमा विस्तार भइरहेको छ । तर नेपालमा भने क्रिप्टोकरेन्सीको कारोबार अवैध मानिन्छ । नेपालमा बेलाबखत अवैधरूपमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको बुझिन्छ । सरकारले त्यस्तो कारोबार गर्नेलाई कारबाही गर्नसक्छ । धेरैलाई ‘क्रिप्टोकरेन्सी’ को बारेमा जानकारी नै छैन । नेपालमा हालसम्म ४ लाख बढि मानिसहरुले क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको तथ्याङ कतै भेटिन्छ । तर यसको तथ्याङक भने ठ्याक्कै यकिन गर्न मुस्किल छ । नेपाल राष्ट्र बैंकले यसमाथि कडा निगरानी राख्ने र यसलाई टक्कर दिनको लागि आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारीमा लागेको खबर पनि बाहिरिएको छ । यस्तै खाले डिजिटल करेन्सी, शेयर बजार र बैंक ब्याजदरसँग सम्बन्धी रहेर लक्ष्मी बैंकमा बित्त तथा कोष प्रवन्धकको रुपमा कार्यरत अभिष आचार्यसँग बैंकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः
क्रिप्टोकरेन्सीमा मानिसहरु किन यती धेरै आकर्षित ?
नेपालमा मात्रै नभएर क्रिप्टोकरेन्सीले संसारभर आकर्षण बढाइरहेको छ । आकर्षण हुनुको पछाडी दुईवटा कारण छन । पहिलो सूचना हो । यसको चर्चा र यससँग सम्बन्धीत थुप्रै समाचारहरु सम्प्रेशण भएका कारण पनि यस्तो भएको हुनसक्छ । दोस्रो यसको बजार मुल्य पनि आकर्षक भएको कारणले पनि हुनसक्छ । त्यतिमात्र नभएर आजको भोली नै यसको मूल्यमा परिवर्तन आईरहने भएकोले पनि यसमा जनमानसको चासो बढेको हो । क्रिप्टोकरेन्सी ब्लक चेन प्रविधीमा आधारित भर्चुअल मनी हो । जसरी हामीले सुनलाई हामीले पहिलेदेखि नै मान्दै आएको छौं, त्यसरी नै क्रिप्टोकरेन्सीलाई पनि मान्दै आउँने हो भने, यसलाई पनि ‘स्टोर अफ भ्यालु’ को रुपमा लिन मिल्छ । यसको ब्लक चेन प्रविधिले कुनैपनि कारोबारलाई सजिलो र ठगी हुन सक्ने सम्भावना घटाईदिन्छ । क्रिप्टोकरेन्सी अर्थात ब्लक चेन टेक्नोलोजीले मानिसहरुमा विश्वास जित्न सक्ने सम्भावना छ । यसले डिजिटल प्रणालीमा नयाँ आयाम ल्याएको छ । विगतमा सरकार वा केन्द्रिय बैंकको निर्देशनमा सञ्चालित बैंकहरु थिए । तर यसलाई निर्देशित गर्ने कुनै पनि निकाय हुँदैन । त्यसैले आफ्नो पैसा कसैको अधिनमा नहुने भएकाले पनि यसमा आकर्षण बढेको हो ।
लुना नामक क्रिप्टोकरेन्सीमा मान्छेले धेरै पैसा गुमाएको समाचारहरु सुनिन्छ, यती धेरै विस्वास गर्दा पनि अफ्ठ्यारो पर्ने रहेछ त ?
तपाईको प्रश्न एकदम जायज छ । विश्वमा धेरै प्रकारको क्रिप्टोकरेन्सीहरु छन् । लुना क्रिप्टोकरेन्सी एक स्टेबल क्रिप्टो क्वाईन भन्छौ हामीले, स्टेबल क्वाईन भनेको यसमा मूल्यमा उतार–चडाव नहुने भन्ने बुझिन्छ । विट क्वाईन ६ महिना अघि ६० हजार भएकोमा अहिले २८ हजार डलरमा छ । तर लुनाको हकमा डलर जती बढ्छ त्यती नै बढ्छ । घट्यो भने घट्छ । तर किन यो करेन्सी चाहियो त भन्ने प्रश्न आउला । यसको पछाडीको तर्क भने फरक छ । मानौं तपाईलाई मैले पैसा भुक्तानी गर्नुपर्ने थियो । विटक्वाईनको मूल्य बदली रहने भएकोले मलाई घाटा लाग्छ, त्यसैले मैले भुक्तानी गर्न मन लागेन । विटक्वाईनबाट तिर्दा ४० हजार डलर थियो, तर तपाईको वालेटमा आउँदा त्यसको मुल्य भयो २८ हजार, अब तपाईलाई १२ हजार घाटा लाग्यो । तर स्टेबल क्वाईनमा त्यस प्रकारको उतार–चडाव नहुने र जतिको त्यति नै बसिरहन्छ । अब लुना चल्ने पनि प्रक्रिया हुन्छ । त्यसको लागि डलर होल्ड गरेर राख्नुपर्छ । क्रिप्टोकरेन्सीको बजारमा तल झरिरहेको छ । तर झरिरहेको भन्दैमा यसको अन्त्य नै हो भनेर भन्न मिल्दैन । यो एउटा स्टेबल क्वाईन हो । स्टेबल क्वाईलाई पेग गर्न नसकेको अवस्था छ । विश्वको ९९ अवस्थामा पेग डुबेको अवस्था छ । त्यसैले यो बजारको एउटा यथार्थ हो । यो एउटा सानो घटना मात्रै हो जस्तो लाग्छ मलाई ।
शतोसी नाकामोटो भन्ने मान्छेले बैंकले पैसा खाईदिन्छ भनेर क्रिप्टोको बिकास गरेको भन्छन् नि, यो कति साँचो कति झुटो हो ?
यो नाम जापानिज हो । तर यो कुनै व्यक्ति हो कि, समूह भन्ने पनि थाहा छैन । संस्था वा सरकार हो त्यो पनि थाहा छैन । २००८ मा विश्व आर्थिक मन्दी भइरहँदा, मान्छेहरुको बैंकिङ्ग सिस्टमप्रति विश्वास गुमेको थियो । त्यसवखत उक्त नाम भएका व्यक्तीले ९, १० पेजको एउटा डकुमेन्ट सार्वजनिक गरे । त्यसमा क्रिप्टो नयाँ भुक्तानीको माध्याम तथा ब्लक चेनको सिस्टम भनेर लेखिएको थियो । साथै यसमा कुनैपनि देशको केन्द्रिय बैंकको अधिनमा नहुने बताइएको थयो । महत्वपूर्ण के थियो भने उहाँले खुल्ला रुपमा निकाली दिनु भयो । र यसको केही पनि कुरा भ्रमपूर्ण छैन । क्रिप्टोका फाइदाहरु पनि छन । अमेरिकाबाट नेपाल पैसा पठाउनु पर्याे भने बैंकिङ्ग च्यानलमार्फत हुन्छ । त्यसमा शुल्क लाग्छ । तर क्रिप्टोबाट पठाउँदा विना शुल्क, तुरुन्तै पैसा पाइन्छ । तर, सरकारलाई कुन स्रोतबाट आयो भन्ने जानकारी नै हुँदैन । यस कारणले गर्दा ब्लक चेन टेक्नोलोजीको भविष्य रहेको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई टक्कर दिनको लागि आफ्नै डिजिटल करेन्सी ल्याउने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी ल्यायो भनेर हामी खुशी हुने अवस्था छ त ?
यसमा मेरो पनि मिश्रित प्रतिक्रिया छ । ‘सिबिडिसी’ (केन्द्रिय बैंक डिजिटल करेन्सी) बिकास कहाँ बाट भयो ? आजको दिनमा नेपालको केन्द्रिय बैंक मात्र होईन ८० राष्ट्रहरुले आफ्नै डिजिटल करेन्सी ल्याएका छन । यो डिजिटल करेन्सी ल्याउँनुको पछाडी क्रिप्टोकरेन्सीलाई टक्कर दिनकै लागि भनेर बुझदा फरक नपर्ला । क्रिप्टोकरेन्सीलाई केन्द्रिय बैंकले नियन्त्रण गर्न सक्दैन भनेर र नोटको नै भविष्यमा प्रश्न उठने भएकोले पनि डिजिटल करेन्सी ल्याएका हुन । हामीमा पनि डिजिटल करेन्सी निकाल्ने भनेर सिबिडिसी नजिकै छ । सिबिडिसी ब्लक चेन जस्तै हुन पनि सक्छ नहुन पनि सक्छ । तर क्रिप्टोकरेन्सी डिसेन्ट्रलाईज भनेर अगाडी बढ्को हो । त्यसैले यो कसैको नियन्त्रणमा हुँदैन । तर केन्द्रीय बैंकले भनेको जस्तो डिजिटल करेन्सी नियन्त्रीत हो । केन्द्रिय बैंकले नै डिजिटल करेन्सी ल्याएको खण्डमा बैंकले पैसा खाएर वा डुब्ने जस्तो समस्या भने हामीमा हुँदैन । तर गोपनियताको भने समस्या हुनसक्छ । केन्द्रिय बैंकले डिजिटल करेन्सी ल्याएको खण्डमा कोसँग कति पैसा छ, कहाँ खर्च गर्ने ? भन्ने लगायतको कुराहरुमा भने असर हुनसक्छ । यसले हरेक व्यक्तीको आफ्नो स्वतन्त्रतालाई नै समस्यामा पार्न सक्ने सम्भावना बढि हुन्छ । अझ महत्वपूर्ण कुरा के छ भने सिबिडिसी आउँदा बैंकको आवश्यकता घट्दै जान्छ । किनकी यसले गर्दा बैंकमा डिपोजिट आउन बन्दै हुनसक्छ । बैंकहरुमा पैसा नआउँदा अर्काे किसिमको आर्थिक समस्या पनि उत्पन्न हुनसक्छ । तर पनि सरकारले त्यसमा कुनै प्रकारको नीति नियम ल्याएर गर्ला । तर मेरो स्वतन्त्रतालाई कुनै प्रकारको असर नगर्ने तरिकाले ल्याउँने हो भने, त्यसले डिजिटल करेन्सीलाई ल्याउँने कुरा राम्रै हो जस्तो लाग्छ ।
भारतमा जस्तै कर लिएर क्रिप्टोलाई नेपालमा पनि खुल्ला गरिदिए कस्तो होला ?
यसलाई दुई तरिकाले हेरौं । भारतले क्रिप्टोलाई कर लगायो । तर त्यहाँ पनि कानुनतः मानिएको छैन । कर लगाउनु र कानुनतः मान्यता पाउँनु फरक कुरा हो । तर भारतले यसलाई गैर–कानुनी पनि भनेको छैन । कानुन नभएको अवस्थामा भारतले रोक लगाएको त छैन । बेला–बेलामा यो गैर–कानुनी हो भनेर पनि बारम्बार भनिरहेको हामीले सुनिरहन्छौँ । अमेरिकामा पनि यस बिषयमा छलफल भईरहेको पाईन्छ । विभिन्न मुलुृकका गर्भनरहरु वा राष्ट्र प्रमुखहरुले पनि यसलाई बुझन, नियन्त्रण गर्न र नियमको दायरामा कसरी ल्याउँने भन्ने विषयहरुमा ब्यापक छलफल गरिरहेको पाइन्छ । यसको विषयमा हालसम्म पनि कसैको ठेट तर्क भने छैन । त्यसैले नेपालको पैसा हुन्डी लगायत विभिन्न गैर–कानुनी माध्यमबाट विदेशिने भएकोले केन्द्रीय बैंक स्वयंमलाई एक प्रकारको डर छ । तर मेरो तर्क भने यसलाई गैर–कानुनी बनाउनुको सट्टा नीति बनाएर नियन्त्रण गर्ने, कर लिएर वा नियन्त्रण गर्न सकिन्छ । साथै, जस–जसले क्रिप्टो सम्बन्धी कारोबार गरेका छन, तिनीहरुको निगरानी गर्ने कामहरु गरे यो केन्द्रिय बैंकको हितमा हुन्छ ।
के क्रिप्टोकरेन्सी पैसा कमाउँने माध्यम मात्र हो त ?
अब यो करेन्सी भन्ने शब्दले पैसासँग सम्बन्ध राखिदियो । यसको नाम क्रिप्टोकरेन्सीको साटो अरु कुनै शब्द भएको भए मानिसले यसलाई अर्कै बुझ्थे होला सायद । डिजिटल युगमा अनेक किसिमका मानीसहरु छन । कोही आफ्नै करेन्सीमा विश्वास नभएकाहरु छन भने कोही सरकारसँग दिक्क भएकाहरु पनि छन । त्यसैले यस्ता व्यवस्थाबाट बाहिर जान्छु भन्ने मानिसहरु क्रिप्टोकरेन्सीमा गएको अवस्था पनि छ । यो एउटा कारोबारको माध्यम हो । यसबाट कारोबार गरेको खण्डमा बीचमा कसैले ह्याक गर्न सक्दैन । नोट नक्कली हुन पनि सक्छ तर क्रिप्टो नक्कली हुन सक्दैन । हामीले करेन्सी शब्द भन्ने बित्तिकै अमेरिकी डलर हो भन्ने सोच्यौँ । तर यो एउटा टेक्नोलोजी मात्रै हो । यसबाट हामीले लाभ लिन सक्यौँ भने भविष्यमा टेक्नोलोजी विकसित हुँदै जाँदा संसारभरका भुक्तानीका माध्यमहरु सहज बन्नेछन । त्यसमा ठगी हुनबाट मुक्त बनाउँछ । यो पैसा कमाउने माध्यम मात्र नभई यसको महत्व धेरै छ ।
बहसको पुरा भिडियो
त्यसोभए शेयर बजार र क्रिप्टोकरेन्सीमा के भिन्नता छ ?
क्रिप्टोकरेन्सी र शेयर बजारमा थुप्रै भिन्नता छ । स्टक मार्केट भनेको कम्पनीको शेयर हो अर्थात कम्पनीको स्वामित्व पनि हो । तर क्रिप्टोकरेन्सी भनेको एउटा टेक्नोलोजीको शेयर किनेको जस्तै हो । कुनै पनि राष्ट्रको आर्थिक अवस्थाको मुल्याकंन स्टक मार्केटले गर्छ भने, क्रिप्टोकरेन्सी अन्तराष्ट्रिय बजारमा फैलिएको हुन्छ । क्रिप्टोको कारोबार विश्वको जुनसुकै कुनाबाट पनि गर्न सकिन्छ भने शेयर बजारका थुप्रै दायराहरु छन । स्टक मार्केटमा कुनै सिमा भित्रका कम्पनी रजिष्ट्रर भएका हुन्छन ।
शेयर बजारको कुरा गर्दा अब नेपालको शेयर बजार कहिले बढ्ला ?
यो प्रश्नको जवाफ ठ्याक्कै कसैले पनि दिन सक्दैन । शेयर मार्केट पनि एक प्रकारको खेल न हो । जती खतरा खेप्न सक्यो त्यती फाइदा । अब विगत केही महिनादेखि राताम्मे शेयर कहिले बढ्ला भनेर मैले ठ्याक्कै भन्न त सक्दिन तर म के भन्न सक्छु भन्दा यो किन्ने समय हो । ३२ सयको हाराहारीमा पुगेको स्टक मार्केट आजको दिनमा थुप्रै घटेको छ । कतिपय कम्पनीहरुको कमाईमा पनि कमी आएको छ । त्यस्तो कम्पनीको ६ महिना अगाडी र आजको दिनको मुल्यमा धेरै भिन्नता आईसकेको छ । हालको समय अनुसार म सँग पैसा छ भने, अब लगानी गर्ने बेला हो, जस्तो लाग्छ मलाई । एकै पटक सबै पैसा खन्याउनु पनि उचित हुँदैन । हेर्दै जाने थोरै पैसा लगानी गर्दै पनि जाने हो ।
बैंकहरुको ब्याजदर उतारचढाव र शेयर बजारसँग के सम्बन्ध छ ? धेरै लगानीकर्ता शेयर मार्केटमा लगानी गर्न बैंकको ब्याजदर कुरेर बस्ने चलन छ नी ?
शेयरमा लगानीको लागि ब्याजदरको पछाडी दौडीनु पर्दैन जस्तो लाग्छ । यो संसारभर कै प्रक्रिया हो । ‘अपरचुनीटी कस्ट’ को सेन्समा हेर्दा यसो भनिएको हो । म सँग पैसा छ, भने ‘फिक्सड डिपोजिट’ गर्ने कि शेयरमा लगानी गर्ने ? फिक्स डिपोजिटमा ब्याजदर राम्रै छैन बरु अलिकती खतरा मोलेर शेयरमा लगानी गरी धेरै कमाउँछु भन्ने हो भने कमाउन पनि सकिन्छ । यो मानिसहरुको मनोविज्ञानमा फरक पर्ने विषय पनि हो । अर्को शेयर बजारलाई तरलता अभावले पनि फरक पार्न सक्छ । यतीबेला बजारमा तरलतको अभाव छ । तरलताको अभाव हुँदा डिपोजिट थोरै हुन्छ । कर्जाको माग बढ्ने तर डिपोजिट नहुने हो भने यसले शेयर बजारलाई पनि असर गर्छ । यतीबेला शेयर बजारमा प्रतेक दिन १ अर्ब बराबरको कारोबार भईरहेको छ । १ अर्ब बराबरको कारोबार हुनु भनेको स्टक किन्नलाई पैसा नै नआएको हो नि, अब मान्छेले स्टक बेच्न नखोजेको भन्दा पनि पैसा नै नभएपछि किन्ने कुरा पनि भएन नि त । त्यसैले व्याजदर र स्टक मार्केटको एक आपसमा सम्बन्ध रहेको देखिन्छ ।
यतीबेला विदेशी सञ्चीत घट्दो अवस्थामा छ । आयात रोक्दैमा विदेशी सञ्चीत बढ्छ नै भनेर भन्न सकिन्छ । यद्यपी विलासीताका सामान रोक्दा रोक्दै पनि विदेशी मुद्रा सञ्चीत त घटेकै तथ्याङक छ त ?
सिधा रुपमा हेर्दा नेपाली करेन्सीलाई कसैले पनि एसेप्ट गर्दैन । नेपालमा आयात कसरी हुन्छ ? यो मुख्य प्रश्न हो । जस्तै सिगांपुरमा बस्ने एक व्यापारीले म तपाईलाई नेपाली पैसा दिन्छु भन्यो भने त्यो उसले लिँदैन । यस्तोमा हामीसँग भएको विदेशी पैसा प्रयोग हुने भयो । त्यो बिदेशी पैसा प्रयोग हुृनृु भनेको हाम्रो घरको पैसा घट्दै जानु हो । आजको दिनमा कुनै पनि बस्तुमा आयातमा रोक लगाउने वित्तिकै बिदेशी पैसा रोकिन्छ । र त्यसले अर्थतन्धमा सिँधै असर गर्छ । यस्ता निर्णयहरु स्थायी हुँदैनन । यो केही समयको लागि मात्रै हो । आवश्यक आयातहरुलाई रोक्दै गर्दा, मान्छेले अन्य बैकल्पिक माध्यम प्रयोग गर्न सक्छन् । त्यसैले बैकल्पिक वा गैर–कानुनी माध्यमबाट आयात हुनसक्छ । त्यसैले लामो समयको लागि यस्ता निर्णयहरु त्यती राम्रो होइन । तर केही समयको लागि मात्र सरकार र केन्द्रिय बैंकले यो कदम चालेको जस्तो लाग्छ मलाई ।
प्रतिक्रिया