भनिन्छ, मिहिनेतबिना सफलता प्राप्त गर्न सकिँदैन र त्यसको औचित्य पनि हुँदैन । त्यसैले एउटा सफल व्यक्ति बन्नका लागि उत्तिकै मिहिनेत आवश्यक पर्छ । निरन्तरको मिहिनेतपछि सफलता प्राप्त गर्न कुनै कठिनाई हुन्न । विभिन्न संघर्ष र उत्तरचढावले नै सफलता प्राप्त गर्नमा सहयोगी भूमिका खेल्छ । सबैजसोले सानैदेखि आफ्नो लक्ष्य लिएर हिँडेपनि जो कोही त्यसमा दृढ नरहन सक्छन् । आफूले सुरुमा सोचेकोभन्दा अन्य क्षेत्रमा पुगेर सफल बनेकाहरु पनि प्रशस्तै छन् । ती मध्येका एक हुन्, माछापुच्छ्रे बैंकका डेपुटी जनरल म्यानेजर सुभाष जमरकटेल ।
मध्यमवर्गीय परिवारमा जन्मे हुर्केका उनले बाल्यकालमा सफल बैंकर बन्नेबारे सोचेका थिएनन् । पश्चिम चितवनमा जन्मिएर उतै बाल्यकाल बिताएका जमरकट्टेलले सरकारी विद्यालयबाटै एलएसली उर्तीण गरे । आफ्नै बाबु विद्यालयको प्रधानाध्यापक भएकाले पढाइमा अब्बल उनी उच्च शिक्षा पढ्ने लक्ष्यसहित काठमाडौं छिरे र आईएसी गरे । सुरुमा चार्टड एकाउन्टेन्ट्स (सीए) पढ्नेबारे सोच समेत नबनाए पनि अन्त्यमा यही विषय पढ्न पुगे । बाल्यकालमा प्रोफेसर बन्ने सपना पछ्याउने उनी उच्च शिक्षा अध्ययनका क्रममा सीए पढ्न थाले र बैंकिङ्ग करियर सुरु गरे ।
एक दिदी, एक दाइ र आफुसहित तीन छोराछोरी भएको परिवारमा हुर्किएका उनको परिवारमा बुबा र आमासहित पाँच जना छन् । यहीकारणले पनि सहज रुपमा हुर्किन र अध्ययनका लागि पर्याप्त समय जमरकट्टेललाई मिल्यो । ‘म सधैँ फस्ट हुन्थे । कतिपटक त बोर्डफस्ट पनि भएँ,’ बाल्यकाल फुर्ति स्मरण गर्दै उनी सम्झन्छन् । त्यही बानी विकास भएर यतिबेला पनि अध्ययनको लत छ उनलाई । ‘पढ्न बस्यो भने समय बितेको पत्तै हुँदैन,’ जमरकट्टेल भन्छन्, ‘यही कारण विद्यालयस्तरमा पनि मलाई टक्कर दिने प्रतिस्पर्धी नै थिएनन् ।’ आफ्नो पढ्ने र किताबलाई समय दिने बानीका कारण नै जिवनको शब्दकोषमा पराजित भन्ने शब्दै नरहेको उनको दाबी छ ।
अध्ययनका लागि घरसँगै देश छाडेपछि बुझे दुःख
मध्यम वर्गीय परिवारमा जन्मिएका धेरैले परिवारमा बस्दा दुःख अनुभव गर्नुपर्दैन । तर, उमेरसँगै थपिँदै जाने जिम्मेवारीले र भविष्यको चिन्ताले गिजोल्दै लैजान्छ । सुवासलाई पनि त्यस्तै भयो । उनले विद्यालयतहसम्मको अध्ययन गर्नेक्रममा घरको सानातिना झन्झट सुने/देखेका थिए । तर, आफैँले यसको अनुभुति गर्न पाएका थिएनन् । कुनैपनि कुरा पढेर देखेरभन्दा पनि अनुभव गरेर थाहा पाइन्छ भन्ने कथन नेपाली उखानका रुपमा चर्चित नै छ ।
नेपालमा आईएसी पढ्दासम्म पनि दुःख नबुझेका जमरकट्टेल सीए पढ्न भारत गएसँगै दुःखका दिन सुरु भएको बताउँछन् । ‘हरेक बिहान ५ बजे उठेर ‘क्लास एटेन्ड’ गरेर ९ बजेदेखि अफिस भ्याउनुपर्ने थियो,’ उनले सम्झे, ‘दिउँसोको जागिर सकेर फेरी ६ बजे क्लास पुग्नुपर्ने थियो ।’ यस्तै परिक्षाको तयारीका लागि निरन्तर ५ दिनसम्म आँखा नझिम्क्याइ पढेको पनि उनी स्मरण गर्छन् ।
पहिलो तलब नै ४० हजार
भारतको राजधानी नयाँ दिल्लीमा ३ वर्ष बिताएका उनले सीए पढ्दै गर्दा चार्टड एकाउन्टेन्ट्स फर्ममा ‘इन्टन’ गरेका थिए । नेपाल फर्किए लगत्तै उनले फेरी सीए फर्ममा नै काम सुरु गरे । त्यसको केही समयपछि नै तत्कालिन भिओर विकास बैंकमार्फत उनले आफ्नो बैंकिङ्ग करियर सुरु गरे । ‘एसिस्टेन म्यानेजर’का रुपमा पहिलोपटक बैंकिङ्ग करियर सुरु गर्दाको पहिलो तलब ४० हजार रुपैयाँभन्दा माथि थियो । त्यसयता जमरकट्टेल निरन्तर बैंकिङ्ग क्षेत्रमा छन् र यो क्षेत्रमा उनको लगन र मिहिनेतकाे डेढ दशक पुगेको छ ।
सुरुमा सीए फर्ममा काम गरेको अनुभवका कारणले उनले बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्दा ठूला चूनौती खेप्नै परेन । तत्कालिन समयमा सीए फर्ममा काम गर्नु भनेको निकै राम्रो थियो । सोहीकारण, सीए फर्म छाडेर विकास बैंकमा करियर सुरु गर्छु भन्दा नजान सम्झाउने साथीहरुको सूची लामै थियो । अझ उनले भारतबाट सीए पढेका थिए । नेपालमा जस्तो भारतमा बैंकिङ्ग क्षेत्रलाई ठूलो र प्रतिष्ठित क्षेत्रका रुपमा लिँइदैनथ्यो । यी सबै अन्यौलताका बाबजुत तत्कालिन विकास बैंकबाट जमरकट्टेलले आफ्नो बैंकिङ्ग करियरलाई अघि बढाएका थिए ।
भिओर विकास बैंकमा केही समय काम गरेपछि स्ट्याण्डर्ड फाइनान्समा प्रवेश गरे । त्यहाँ उनी म्यानेजर बने । स्ट्याण्डर्ड फाइनान्स र माछापुच्छ्रे बैंक मर्जरमा गएपछि २०६९ सालदेखि माछापुच्छ्रे बैंकको विभिन्न विभाग सम्हाल्दै छन् जमरकट्टेलले । उनी आज एक बैंकरका रुपमा मात्र नभएर संस्थाको उच्च तहमा नेतृत्वदायी भूमिकामा छन् । व्यक्तिगत समय भन्दा पनि संस्थागत समय बढी खर्चिएका छन् । पछिल्लो समय नेपालमा अनुभव बटुलेर विदेश पलायन हुने र उतैका बैंकमा करियर सुरु गर्ने प्रचलन बढ्दो छ ।
यहीक्रम जमरकट्टेकाे जीवनमा पनि पटक–पटक आएको थियो । बैंकिङ्ग करियरको मध्यान्नतर्फ आइपुग्दा उनलाई विभिन्न विदेशी बैंकले राम्रा अफर गरेका थिए । तर, नेपाल छाडेर ती विदेशी बैंकमा पुगेर काम गर्ने चाह भने उनले देखाएनन् । ‘यसले नेपालका बैंकर अन्तर्राष्ट्रियस्तरका बैंक तथा वित्तीय संस्थामा काम गर्न योग्य छन् भन्ने देखाउँछ,’ उनी भन्छन् ।
सबैभन्दा माथि छ जिम्मेवारी
कसैलाई सबैभन्दा महत्वपूर्ण विषय र तपाईँको प्राथमिकताामा के पर्छ भन्यो भने धेरैको जवाफ पैसा, प्रेम लगायत आउन सक्छ। तर, यही प्रश्न जमरकट्टेललाई सोध्यो भने उत्तर हुन्छ – जिम्मेवारी । ‘संसारमा सबैभन्दा ठूलो कुरा व्यक्तिले पाएको वा पाउने जिम्मेवारी हो,’ बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छु ।’ संस्थाहरुले दिने जिम्मेवारी नै जिवनको महत्वपूर्ण क्षणका रुपमा लिन्छन् जमरकट्टेल ।
‘मभन्दा उच्च तहमा बसेकाहरुले सुवासले यो जिम्मेवारी सम्हाल्नु भनेर ‘रिकोनाइज’ गरेको कुरा नै मेरो लागि ठूलो कुरा हो’ उनी भन्छन् । उनलाई कुनैपनि पुरस्कार लिँदा पनि जिम्मेवारी बोध हुन्छ । उनको बुझाइमा कुनैपनि संस्थाले व्यक्तिलाई दिएको जिम्मेवारी पृष्टि गर्नु पनि महत्वपूर्ण रहन्छ ।
जमरकटेलकाे नजरमा बैंकिङ्ग क्षेत्र
कुनैपनि देशको बैंक,अर्थतन्त्रदेखि सबै विषय एउटा ‘इकोसिस्टम’मा जोडिएको हुन्छ । जसकारण देशको अर्थतन्त्र राम्रो हुँदा बैंकिङ्ग क्षेत्र पनि राम्रै हुन्छ । उनको नजरमा नेपालको बैंकिङ्ग क्षेत्रले पनि प्रविधिको विकासमा आएका परिवर्तलाई आत्मसाथ गरेर अघि बढ्दैछ । नेपालको बैंकिङ्ग क्षेत्रले ‘फाइनान्सियल लिट्रेसी’मा भने खासै ध्यान नपुर्याएजस्तो लाग्छ उनलाई । ‘यद्यपि, पछिल्लो दशकमा नेपालको बैंकिङ्ग क्षेत्रले प्रविधिमा जोड दिएका छन्,’ भन्छन्, ‘तर, नेपालका बैंकमा विदेशी बैंकिङ्ग क्षेत्रको जस्तो प्रविधि लागू गर्न सहज छैन ।’
नेपालको बैंकिङ्ग क्षेत्र समग्र वित्तीय क्षेत्र र अर्थतन्त्रमा नै ठूलो र प्रतिष्ठित मानिन्छ । यहीकारण, यो क्षेत्रमा आफ्नो करियर विकास गर्ने चाहना र लक्ष्य बोक्नेहरुको संख्या हजारौंमा छ । उच्च शिक्षा अध्ययनको तहमा पुग्नेहरुमध्ये धेरैले बैंकर बन्नेबारे सपना बुन्न थालिसकेका छन् । बैंकर बन्ने सपना बन्नेहरुलाई सुझाव दिँदै सुवास भन्छन्, ‘बैंकमा छिर्नको लागि दुईवटा ढोका हुन्छ । बैंकमा काम गर्न ठोस लक्ष्य लिएर भरपुर मिहिनेत गर्नुपर्छ ।’ उनले बैंकिङ्ग करिअर सुरु गरेपछि कुनैपनि बैंकरको शैक्षिक योग्यता भन्दापनि इमानदारिता र संस्थाप्रतिको लगावले ठूलो भुमिका खेल्ने बताए । संस्थाभित्र रहेर काम गरेपछि विधि र व्यवस्थाभित्र रहनुपर्नेमा उनको जोड रहन्छ ।
असल बैंकर बन्न तालिम चाहिन्छ
सुवासको बुझाइमा बैंकिङ्ग क्षेत्रमा काम गर्दै जाँदा आईपर्ने विभिन्न विषयहरुलाई सम्बोधन गर्न तालिमहरुको आवश्यक्ता पर्छ । उनी बैंकिङ्ग करियरको माथिल्लो पदसम्म पुग्न आवश्यक धेरै ‘फ्याक्टर’ तालिम महत्वपूर्ण रहेको बताउँछन् । ‘संस्थामा आवद्ध भएर काम गर्दै जाने क्रममा ‘पिपुल म्यानेजमेन्ट’, ‘मेनेजरिङ्ग स्किुलिङ्ग’, ‘डिसिजन मेकिङ्ग’ र काम गर्ने शैली लगायतका विषयमा तालिम आवश्यक पर्ने उनको भनाई छ ।
उनको डेढ दशक लामो अनुभवअनुसार बैंकको करियर चूनौतीपूर्ण छ । तर, चूनैतीलाई अवरसकारुपमा लिने थोरैमध्यमा पर्छन् जमरकट्टेल । चुनौतीलाई सहजै सामना गर्न एउटा प्रिन्सिपल नै प्रयोग गर्दै आएका उनले ‘चाइनिज ताई ची’ दर्शन सिद्धान्तलाई फलो गर्ने गरेका छन् । ‘मानिसलाई शारीरिक, मानसिक र आध्यात्मिकरूपमा पूर्ण बनाउन प्राचिन ताई ची जीवनशैली सुन्दर लाग्छ’ उनी भन्छन् ।
प्रतिक्रिया