बैंकिङ्ग बहस

अहिलेकै स्थितीमा नेपालका बैंकमा ‘क्वान्टम’ प्रविधि कल्पना बाहिर, ‘ब्लक चेन’बारे सोच्ने बेला भइसक्यो

अहिलेकै स्थितीमा नेपालका बैंकमा ‘क्वान्टम’ प्रविधि कल्पना बाहिर, ‘ब्लक चेन’बारे सोच्ने बेला भइसक्यो

नेपालले डिजिटल पेमेन्ट पूर्वाधार निर्माणमा जोड गर्नुपर्छ – गुरुप्रसाद पौडेल

निकेश खत्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वमा दिनदिनै नयाँ–नयाँ प्रविधिको खोज अनुसन्धान भइरहेको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग चरम बिन्दुमा पुगेको छ । एआईद्वारा सञ्चालित रोबोटले मानवलाई चाहिने सबैजसो काम गर्न थालिसकेको छ । प्रविधिमा हात परेको उपलब्धिको बाछिटा बैंक तथा वित्तीय क्षेत्रमा पनि परेको देखिन्छ । एआईलाई भरपुर प्रयोग सुरु गरिसकेका विकसित मुलुकका बैंकले ‘ब्लक चेन’ प्रविधि र ‘क्वान्टम’ प्रविधि समेत अँगालिसकेका छन् ।

अमेरिका लगायत विकसित मुलुकका बैंक तथा वित्तीय संस्थाले ब्लक चेनको प्रयोग अघि बढाइसकेका छन् भने सिंगापुर लगायतका मुलुकले क्वान्टम प्रविधि नै प्रयोगमा ल्याउने घोषणा गरिसकेका छन् । छिमेकी भारतले पनि वित्तीय क्षेत्रमा प्रयोग हुने क्वान्टम प्रविधिमा अनुसन्धान अघि बढाइसकेको छ । तर, नेपालका बैंक तथा वित्तीय संस्था भने प्रविधिको प्रयोगमा अन्य मुलुकको तुलनामा पछाडि छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यकारी निर्देशकको भूमिकामा रहेका गुरुप्रसाद पौडेलसँग प्रविधि प्रयोगमा राष्ट्र बैंकको नीति र बैंकहरुमा प्रयोगको अवस्थाबारे बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंशः–

यतिबेला विश्वभर बैंक तथा वित्तीय संस्थाले प्रविधिलाई तीव्र स्तरमा अवलम्बन गरेका छन् । नेपालमा पनि प्रविधिको प्रयोग बढ्दो छ । तर, विदेशी मुलुकको तुलनामा न्यून छ । तपाईँले चाँहि कस्तो देख्नुहुन्छ, प्रविधि प्रयोगको स्थिति ?

नेपालमा मात्रै नभएर संसारभर नै प्रविधिको प्रयोग गर्ने निकायमा बैंक तथा वित्तीय संस्था पर्छन् । नेपालमा पनि प्रविधिको प्रयोग गरेर आफ्ना सेवाग्राहीलाई सेवा दिने क्रममा अघि नै छन् । तपाईँले ‘ब्लक चेन’ र ‘क्वान्टम प्रविधि’ जस्ता विषयमा कुरा गर्नुभएको छ । यी प्रविधि नेपालमा यतिबेला प्रयोगबारे कल्पना नभइरहेपनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एआईमा आधारित सेवा सुरु गरिसकेका छन् । क्वान्टम त विश्वलाई नै नयाँ हो ।

तर, एआई प्रयोग बढाउने विषयमा केन्द्रीय बैंकले योजना बनाइरहेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत प्रविधिको प्रभाव र यसबाट पर्ने जोखिमबाट बच्ने उपायको खोजी गर्ने गरी काम गर्ने घोषणा भएको छ । नेपाल सरकारले पनि एआईको प्रयोगबारे कन्सेप्ट नोट निकालिसकेको छ । यसमा वित्त क्षेत्र पनि एआईको प्रयोग बढ्न सक्ने क्षेत्रकारुपमा राखेको छ । संसारमा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)को लहर आउँदै गर्दा राष्ट्र बैंकले पनि महाशाखा नै गठन गरेर यसबारे काम गर्दै आएको छ । यसबाहेक डिजिटल पेमेन्ट इन्फ्रास्ट्रक्चरको विकासमा राष्ट्र बैंक लागि रहेको छ ।

मौद्रिक नीतिमा प्रविधिको प्रयोगबारे अध्ययन गरेर खाका तयार गर्ने उल्लेख गरेको बताउनुभयो । तर, अहिलेसम्म नेपालका बैंक तथा वित्तीय संस्थामा प्रविधिको प्रयोग विषयमा खाका बनेको छ वा छैन ?

छ । प्रविधि परिवर्तनशील छ । प्रविधिको प्रयोग निश्चित क्षेत्रमा मात्र हुँदैन । नेपालका बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने बैंकिङ्ग प्रविधि अन्तर्राष्ट्रिय स्तरको छ । तुलनात्मकरुपमा हाम्रो पूर्वाधार पछाडि छ । डिजिटल पेमेन्ट्स पूर्वाधार र नेश्नल पेमेन्ट स्विच लगायतका क्षेत्रमा काम भइरहेको छ । नेपालका बैंकले सन् १९९० मा नै एटिएम कार्डको प्रयोग सुरु गरेका थिए । त्यतीबेला ज्वाइन्ट भेञ्चर (जेभी)मार्फत अन्तर्राष्ट्रिय बैंक भित्र्याइएको थियो ।

त्यसयता, नेपालका बैंक तथा वित्तीय संस्थाले प्रविधिको प्रयोग गर्दै आएका छन् र प्रचुर मात्रामा आफ्ना ग्राहकलाई सेवा पनि दिइरहेका छन् । विकसित अर्थतन्त्र भएका मुलुकको तुलनामा न्यून हुन चाहिँ सक्छ ।

प्रविधिको आयात र निर्यातका लागि सीमाले रोक्दैन भनिन्छ । नेपाल भू–परिवेष्टित राष्ट्र भएपनि विश्वभरको प्रविधि भित्र्याउन रोकतोक छैन । तरपनि नेपालको वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग जुन तहमा हुनुपर्ने, त्यो तहमा भएको देखिँदैन नि ?

राष्ट्र बैंकले एक वर्षअघि ‘साइबर रेजिलेन्स गाइडलाइन्स’ ल्याएको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थालाई साइबर सेक्युरिटितर्फ ध्यान पुर्याउन दिशानिर्देश गरेको छ । मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, वालेटको प्रयोग र क्यूआरको प्रयोग हेर्दा नेपालको जनसङ्ख्या प्रविधिमैत्री देखिन्छ ।

एआईको प्रयोग विकसित देशका बैंक वित्तीय संस्थाले बढाएका छन् । नेपालका बैंकले पनि एआई च्याटबोटको प्रयोग बढाएका छन् । मौद्रिक नीतिको व्यवस्थाअनुसार राष्ट्र बैंकले बनाउने कार्यविधिमा एआईको प्रयोग बारेमा निश्चित खाका बन्छ । सोअनुसार नेपालको बैंकहरु एआईको प्रयोगमा जान सक्ने देखिन्छ । फ्रड डिटेक्सनमा एआईको प्रयोग गर्न सकिन्छ । केन्द्रीय बैंकले पनि एआईको प्रयोग गर्न सक्छ । नेपालको बैंकिङ्ग क्षेत्रमा एआईको प्रयोगबारे बहस नै छेड्नुपर्ने हुन्छ ।

वित्तीय क्षेत्रमा क्वान्टम प्रविधिको विषयमा माथि थोरै कुराकानी भयो । सिंगापुरले हालसालै वित्त क्षेत्रमा क्वान्टम प्रविधिको प्रयोग सुरु गर्ने घोषणा गरेको थियो । कार्यान्वयन वा प्रयोग परको कुरा । नेपाल राष्ट्र बैंकले योजना नै कहिले बनाउने हो ?

सुरुमा हामीले डिजिटल पेमेन्ट इन्फ्रास्ट्रक्चर (डीपीआई) पूर्वाधार नै बनाउनुपर्छ । मुलुकभरि इन्टरनेटको पहुँच सर्वसुलभ बन्नुपर्छ । इन्टरनेटविना डिजिटल बैंकिङ्ग र प्रविधिको प्रयोग कल्पना गर्नै सकिन्न । क्लाउडको प्रयोगबारे स्पष्ट नीतिगत व्यवस्था गर्न आवश्यक छ । किनकि, सबै वित्तीय संस्था र सबै वालेट कम्पनीले सर्भर राख्न सक्दैनन् । प्रविधिको पूर्ण प्रयोगका लागि चाहिने सबै पूर्वाधार तयार बनेपछि यी विषयमा केन्द्रीय बैंकले जोड अघि बढाउँछ ।

हामी धेरैजसो विषय भारतबाट सिक्छौँ । तर, क्वान्टम प्रविधिमा चाँहि यता ध्यान नदिएको देखिन्छ । किनकि, सन् २०२० मा नै भारतले क्वान्टम प्रविधि प्रयोगमा ल्याउन अनुसन्धान गर्ने लक्ष्यले ८ हजार करोड भारु छुट्टाएको रहेछ । नेपालले अनुसन्धान कहिले सुरु गर्ने हो ?

सन् २०१९ मा नेपाल सरकारले ‘नेपाल डिजिटल फ्रेमवर्क’ ल्याएको थियो । त्यसमा ८ वटा क्षेत्रमा ८० वटा ‘इनिसियटिभ’मार्फत नेपाललाई डिजिटल नेपाल बनाउने परिकल्पना गरिएको थियो । ३ वर्षमा धेरै क्षेत्रमा उपलब्धि हात पार्ने योजना समेत फ्रेमवर्कमा थियो । जसमध्ये ‘डिजिटल फाउन्डेशन’ तयार गर्ने विषय पनि थियो । तीमध्ये धेरै लक्ष्य अहिले पनि हामीले हासिल गरेका छैनौँ । यस्तो अवस्थामा डिजिटल नेपाल बन्नका लागि चाहिने न्यूनतम पूर्वाधार तयार गर्न नसकिरहेको स्थितिमा क्वान्टम प्रविधि अँगाल्ने विषय सोच्न पनि सकिँदैन । डिजिटल बैंकभन्दा अघि डिजिटल बैंकिङ्ग लगायतका क्षेत्रमा काम गर्नुपर्छ । यसपछि मात्रै विश्वले अङ्गालिरहेको नयाँ–नयाँ प्रविधिमा हामीले काम गर्न सक्छौँ ।