शाखा विस्तारमा जीवन बीमाभन्दा निर्जीवन बीमा कम्पनी अब्बल, कर्मचारी थप्न पनि अघि

शाखा विस्तारमा जीवन बीमाभन्दा निर्जीवन बीमा कम्पनी अब्बल, कर्मचारी थप्न पनि अघि

निर्जीवन बीमा कम्पनीले १३.३४ प्रतिशतले बढाए कार्यालय सङ्ख्या

नमुना के. सी.
126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शाखा विस्तार र कर्मचारी सङ्ख्यामा जीवन बीमा कम्पनीभन्दा निर्जीवन बीमा कम्पनी अब्बल देखिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीहरू शाखा विस्तार र कर्मचारी सङ्ख्यामा अब्बल देखिएका हुन् ।

चालू आर्थिक वर्ष २०८१/८२ को ३ महिना (साउनदेखि असोजसम्म) निर्जीवन बीमा कम्पनी शाखा बढाउन र कर्मचारी बढाउन ‘एग्रेसिभ’ देखिएका छन् । यस अवधिमा दुवै कम्पनीहरूको तथ्यांक उल्लेख्य सुधारिएको छ । यद्यपि, जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनी अब्बल देखिएको प्राधिकरणले जानकारी दिएको छ ।

अघिल्ला वर्षहरूमा आर्थिक मन्दी र मर्जरका कारण बीमा कम्पनीहरूमा शाखा बन्द प्रचलन सुरु भएको थियो । साथै, कर्मचारी सङ्ख्या पनि घट्न थालेको थियो । यसैगरी, कम्पनीहरूको व्यवसायमा समेत सुस्तता छाएको तथ्यांकले देखाएको थियो । तर, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक गतिविधि बढ्न थालेसँगै बीमा क्षेत्र समेत चलायमान बनेको देखिएको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पटक–पटक बीमाक्षेत्रको दायरा र व्यवसाय बढाउन सहयोगी भूमिका खेल्ने बताउँदै आएका छन् । बीमा कम्पनीहरूको बजार बढ्दै गइरहेको अवस्थामा शाखा थप्ने र कर्मचारीको सङ्ख्या बढाउने क्रम बढेको छ । सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय बीमा कम्पनी दायरा बढाउन प्रयत्न गरिरहेको बताउँछन् ।

‘निर्जीवन बीमा कम्पनी व्यवसायको दायरा बढाउन तत्पर छन् । उनीहरू आक्रामक बनिरहेका छन्,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘बीमा क्षेत्रले परिवर्तन खोजिरहेको छ । दायरा घटे पनि बीमा क्षेत्रमा सकारात्मक परिवर्तन पनि भइरहेको छ ।’

शाखा बढाउने होडमा निर्जीवन बीमा कम्पनी

जीवन, निर्जीवन, पुर्नबीमा र लघु गरी नेपालमा ३७ वटा बीमा कम्पनी छन् । जसमा १४ वटा जीवन र १४ वटा निर्जीवन कम्पनी छन् । यस्तै, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् भने दुई वटा पुर्नबीमा कम्पनी छन् । जसमध्ये, समीक्षा अवधिसम्म यी कम्पनीहरूका देशभर मुख्य र क्षेत्रीय तथा शाखा र उपशाखा कार्यालय गरेर २ हजार ९९८ वटा रहेका छन् ।

गत आर्थिक वर्षको यही अवधिसम्म २ हजार ८२५ वटा कार्यालय थिए । गत वर्षको तुलनामा कार्यालय सङ्ख्या ६.१२ प्रतिशतले बढेको हो । समीक्षा अवधिसम्म जीवन बीमकको कार्यालय १.८८ प्रतिशतले बढेर १ हजार ८४० पुगेको छ । गत वर्षको यही अवधिमा जीवन बीमाको कार्यालय सङ्ख्या १ हजार ८०६ वटा थियो । यसैगरी, चालु आर्थिक वर्षको ३ महिनामा निर्जीवन बीमकको कार्यालय सङ्ख्या १३.३४ प्रतिशतले बढेर १ हजार १५८ पुगेको छ । गत वर्षको यही अवधिमा कार्यालय सङ्ख्या १ हजार १९ वटा रहेको थियो ।


कर्मचारी थप्न समेत अघि छन् निर्जीवन कम्पनी
समीक्षा अवधिसम्म बीमा कम्पनीहरूमा ११ हजार ७९९ कर्मचारी कार्यरत छन् । जसमा जीवन बीमातर्फ ५ हजार ८१९ र निर्जीवन बीमकतर्फ ५ हजार ९३४ रहेका छन् । गत वर्षको यही अवधिमा बीमा कम्पनीहरूमा ११ हजार ५०८ जना कर्मचारी कार्यरत थिए । जसमा जीवन बीमकतर्फ ५ हजार ८१९ र निर्जीवन बीमकतर्फ ५ हजार ६८९ कार्यरत थिए ।

गत वर्षको तुलनामा समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीमा कर्मचारी सङ्ख्या ०.७९ प्रतिशत र निर्जीवन बीमकमा ४.३१ प्रतिशतले बढेको छ । प्राधिकरणकारअनुसार निर्जीवन बीमा कम्पनीहरूमा धेरै कर्मचारी थपिएका छन् । जीवन बीमा कम्पनीहरूमा भने ४६ जना मात्रै थपिएका छन् । गत वर्षको ३ महिनामा जीवन बीमा कम्पनीहरूमा ५ हजार ८१९ जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ५ हजार ८६५ जना पुगेका छन् ।