चौतर्फी चूनौतीमाथि नवउद्यमीः समस्या समाधानमा पहलकदमी कसले लिने ?

चौतर्फी चूनौतीमाथि नवउद्यमीः समस्या समाधानमा पहलकदमी कसले लिने ?


काठमाडौं – देशको अर्थतन्त्रको आकारलाई बढोत्तरी दिनका लागि नवउद्यमीको योगदान महत्वपूर्ण हुन्छ । सानो पूँजीबाट सुरु भएका योजना ठूला कम्पनीमा परिणत हुँदा रोजगारी सृजनादेखि कर संकलन र सिंगो अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्छ । अमेरिका, चीन र भारतजस्ता ठूला अर्थतन्त्रमा साना लगानीबाट व्यवसाय सुरु गरेका नवउद्यमीले ठूला फड्को मार्ने गर्छन् ।

तर, नेपालमा भने अपवादकारुपमा मात्रै यस्तो हुन्छ । सानो र न्यून पूँजीबाट सुरु भएका व्यवसायी बढेर ठूला कम्पनी बनेका उदाहरण औंलामा गन्न सक्ने संख्यामा छन् । जसकारण, रोजगारी सृजनासँगै कर संकलन र अर्थतन्त्रका आकार वृद्धिमा प्रभाव परिरहेको छ । कुनै समय सानो पूँजीबाट सुरु भएका कम्पनीले भविष्यमा अर्बौको कारोबार गर्दा अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्छ नै ।

प्रत्येक वर्ष आउने बजेटमा सरकारले नवउद्यमी र साना तथा मझौला व्यवसायीका लागि भनेर विशेष योजना घोषणा गर्छ । तर, ती योजना कार्यान्वयन नहुँदा घोषणाअनुसारको काम हुन सकेको छैन । साथै, सरकारी ढिलासुस्ती, परम्परागत सोचसहितको कर्मचारीतन्त्र र विभिन्न बाधाअड्चनका कारण नवउद्यमीको लगानी फुल्न फल्न पाउँदैन । यही गुनासो धेरैजसो ‘स्र्टाटअप’ व्यवसायीबाट सुन्न पाइन्छ ।

सरकार सधै युवाहरुको पक्षमा नै भनेपनि वास्तवमा सुधार गर्नुपर्ने पक्षलाई नजरअन्दाज गरिएको पाइन्छ । सरकारी नियम पालना गर्न खोज्दा पनि नयाँ उद्यमीहरुलाई गरिने व्यवहार, अस्पष्ट ऐन/कानून र सरकारी कार्यलयहरुको ढिलाईले धेरै हदसम्म उद्यमीहरुलाई निराश गर्ने गरेको व्यवसायीहरु बँताउछन् ।

छैन प्रोत्साहनको नीति, फक्रिँदैनन् साना लगानी

नेपालमा प्रोत्साहन र मार्गदर्शनको कमीले युवाहरु लाइन लागेर विदेशिनेक्रम बढ्दो छ । राष्ट्र बैंकका अधिकारीहरु सार्वजनिक कार्यक्रममा नै ठूलो संख्यामा नेपाली बाहिर गएका कारणले अर्थतन्त्रको आन्तरिक माग खस्किएको बताउन थालेका छन् । नेपालमा केही गर्ने वातावरण छैन भन्ने मानसिक्ता फैलँदो छ । बैंक, सरकारी निकाय, समन्वय पक्षहरुले पनि भर्खरै सुरु भएको व्यवसायलाई सहजीकरण गर्नुको साटो बाधा हाल्ने गर्छन् ।

सानो लगानीबाट काठमाडौंमा व्यवसाय सुरु गरेकी स्वीकृति न्यौपाने भन्छिन्, ‘व्यवसाय सुरुवात गर्नु नै सुरुमा एउटा चुनौती हो । त्योभन्दा पनि नेपालको राजनीति परिवेशमा आफ्नो व्यवसायलाई सरकारी नीति नियम पुरा गरी दिर्घकालिनरुपमा निरन्तरता दिन ठूलो पापड पेल्नुपर्छ ।’ व्यवसाय सुरु गरेपछि सरकारी नीति नियम, पुराना सोचशैलीका कर्मचारीको नियत र बैंकले गर्ने असयोगले नवउद्यमीलाई दिनदिनै चूनौती थप्नेगर्छ ।

‘व्यवसाय सुरुवात गर्नु नै चुनौती थियो । बैंकले पनि कर्जा दिनको लागि गाह्रो मान्यो,’ न्यौपानेले भनिन्, ‘पछि सरकारी निकायसगँ सहयोग माग्दा झनै नराम्रो भोगाइ रह्यो ।’ सरकारी नीति नियम अनुसार नै व्यवसायलाई आफै दर्ता गर्न जाँदा नराम्रो व्यवस्था पाएको विडम्बना सुनाउँदै उनी भन्छिन्, ‘हामीले बिना दलाल नै सबै काम गर्न खोज्दा धेरै समस्या भोग्नुपर्यो ।’

बैंकहरुले पनि नयाँ सुरुवात गरेको युवा व्यवसायीहरुलाई विश्वास नगर्ने उद्यमीहरुको गुनासो छ । व्यवसायि सञ्जय महापुरुषले आफनो व्यवसायको लागि लोनको लागि बैंकमा आवेदन दिने क्रममा बैंकले चोर, र्फड जस्तो व्यवहारले नराम्रो महशुस गरेको बँताउछन । ‘सुरुवाती दिनमा व्यवसाय सुरु गर्दा बैंकमा ऋणका लागि पहल गर्दा विश्वास नगरेको तितो याद ताजै छ,’ नवउद्यमी सञ्जय महापुरुष बताउँछन्, ‘सुटबुट लगाएर सुर्केस् बोकेर बैंक गयो भने ऋण पत्याउँछ । अन्यथा केही गर्न चाहने युवालाई पत्याउँदैनन् ।’

नियामक भन्छ – उद्यमीलाई कर्जा दिएका छौं

नवउद्यमीको संख्या बढ्दै जाँदा उनीहरुलाई सरकारले गरेको शून्य सहयोगपछि चौतर्फी दबाब बढ्दै जाँदा सरकारले साना उद्यमीलाई कर्जाको व्यवस्था गरेको छ । यही आर्थिक वर्षदेखि सरकारले उद्यमीलाई कर्जा वितरण सुरु गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले युवाहरुलाई केही नँया सुरुवात गर्न र नँया आइडिया भएकाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गर्नको लागि कर्जाको व्यवस्था सुरु गरेको बताउँछन् ।

उनी भन्छन्, ‘स्वदेशमै युवाहरूले केही गरुन भनेर नेपाल सरकारले सहुलियतपूर्ण कर्जाको प्रावधान ल्याइरहेको हुन्छ । हाम्रो उद्देश्य युवा पलायनलाई रोक्नु हो । सरकारबाट कर्जा मात्र नभएर मार्गदर्शन र सहज प्रणलीको आवशयक महशुस गरेको युवा उद्यमीहरु भने सरकार प्रति सन्तुष्ट भने छैनन् ।’ यस्तो अवस्थामा सरकारी निकायले पनि युवा उद्यमीहरुलाई सहज बँनाउनको लागि पहल गरिरहेको बँताउछन् ।