नेश्नल पेमेन्ट स्वीच : कार्ड छाडेर क्यूआरतर्फ मोडिँदै एनसीएचएल

नेश्नल पेमेन्ट स्वीच : कार्ड छाडेर क्यूआरतर्फ मोडिँदै एनसीएचएल


काठमाडौं – यतिबेला नियामक र सेवा प्रदायकको भूमिकामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने बहस जोडतोडले उठिरहेको छ । नियामकको भूमिका र सेवा प्रदायकको भूमिका एउटै संस्थाले खेल्दा नेपालमा वायुसेवा सञ्चालन जोखिमपूर्ण बनेको तर्क पनि बलियो बन्दैछ ।

सरकारले नै पटक–पटक नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने नीति बनाउने बताउँदै आइरहेको छ । कतिपय मन्त्रीहरूले प्राधिकरण टुक्र्याउने बताइरहे पनि सकेका छैनन् । ‘नागरिक उड्डयन ऐन, २०५३’ संशोधनका लागि सरकारले जोड बल गरिरहे पनि सकेको छैन ।

तर, नेपाल राष्ट्र बैंक भने यस्तै प्रकृतिको संस्था जन्माउने तरखरमा लागेको छ । प्राधिकरणले खेल्दै आएको दोहोरो भूमिका कटौती गर्ने गरी सरकार नै अघि बढ्दै गर्दा राष्ट्र बैंकले यस्तै प्रकृतिको अर्को संस्था जन्माउने तयारी धेरै अघि बढाइसकेको हो ।

‘नेश्नल पेमेन्ट स्विच’मार्फत राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई नियामक र सेवा प्रदायकको भूमिका उपलब्ध गराउने गरी काम अघि बढाइरहेको देखिन्छ । क्लियरिङ हाउस लिमिटेड राष्ट्र बैंकको म्यान्डेटअनुसार काम गर्ने संस्था हाे । यो संस्थाले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर ‘पेमेन्ट सर्भिस अपरेटर’ (पीएसओ) को भूमिका खेल्दै आइरहेको छ ।

एनसीएचएलले जस्तै अन्य ८ वटा कम्पनीले समेत पीएसओको भूमिकामा छन् । यसबाहेक ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ (पीएसपी) का लागि २६ वटा कम्पनीले लाइसेन्स लिएका छन् । हाल पीपएसपीको भूमिकामा रहेको एनसीएचएलको नेतृत्वमा राष्ट्र बैंकले ‘नेश्नल पेमेन्ट स्विच’ स्थापना गर्दैछ । जसको मातहतमा सञ्चालनमा रहेका सबै पीएसओ र पीएसपी आउँनेछन् ।

पीएसपीको लाइसेन्स लिएका कम्पनी र पीएसओको लाइसेन्स फरक हो। यही कारण एनसीएचएलको मातहतमा पीएसपी ल्याउँदा ठुलो प्रभाव पर्दैन । ‘तर एउटा समान प्रकृतिको मातहतमा अन्य त्यस्तै प्रकृतिका कम्पनी ल्याइनु प्रतिस्पर्धा नै अन्त्य गराउने खेल हो । यो सरासर राष्ट्र बैंकको एकाधिकार कायम गर्ने योजना हो । सब्सिडरी कम्पनीमार्फत नियामकिय भूमिकासहित व्यापारमा उत्रिने तयारीजस्ताे देखिन्छ ।

एनसीएचएसले पेमेन्ट स्वीचको काम थालेपछि नेपालको सम्पूर्ण विद्युतीय भुक्तानी सोही माध्यमबाट हुनेछ । यसमार्फत कार्डबाहेक कारोबारमा प्रयोग हुने बैंक खाता, ई–वालेट, क्यूआर कोडमार्फत हुने भुक्तानी समेटिएको छ। यसमार्फत नेपाल–क्यूआर स्ट्याण्डर्ड, नेपाल–पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण र वालेट–वालेटबीच अन्तरआबद्धता लगायतको भुक्तानी समेत हुनेछ ।

देशकाे सम्पूर्ण विद्युतीय काराेबारलाई एकीत्रित गर्ने लक्ष्यसहित नेश्नल पेमेन्ट स्वीच आउनु विराेधाभाषपूर्ण देखिन्छ । जबकी, नेश्नल पेमेन्ट स्वीचको मूख्य लक्ष्य नेपालको आफ्नै कार्ड विकास गर्नुतर्फ केन्द्रीत हुनुपर्ने हो । जहाँ अन्य कम्पनीले लगानी गरेका छैनन् । यस्तै देशकाे छुट्टै कार्ड हुनु राष्ट्रिय आवश्यक्ता हाे । याे छाडेर प्रतिस्पर्धामा उत्रँदा नयाँ अनुसन्धान नै राेकिने जाेखिम छ ।

किनकि, युक्रेनविरुद्ध हमला गरेका कारण अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय भुक्तानीमाध्यम स्वीचबाट नै हटाइएपछि रुसमा रहेको अर्बौ डलरको सञ्चिती कागजमा बदलिएको थियो । यो घटनालाई नजिकबाट नियालेका विश्वभरका देशहरुले आफ्नै कार्ड विकास गरिरहेका छन् ।

उत्तर छिमेकी मुलुक चीनले धेरै अघिदेखि युनियन पे सञ्चालनमा ल्याएको छ । यस्तै, दक्षिण छिमेक मुलुक भारतले रुपे सञ्चालनमा ल्याएर विश्वभर फैलाउने कार्यलाई व्यापक बनाइरहेको छ । नेपालले पनि आफ्नै कार्ड भुक्तानी माध्यम सार्वजनिक गरेर चीन र भारतको सिको गर्नुपर्नेमा नेश्नल पेमेन्ट स्विच आफ्नो गन्तव्य नै बदल्नतर्फ अग्रसर देखिन्छ । यतिबेला नेश्नल पेमेन्ट स्वीचले कार्डबाहेकका सबै विद्युतीय कारोबार गर्ने लक्ष्यसहित आफ्नो काम अघि बढाइरहेको छ ।

नेपालमा मास्टरकार्ड र भिसाले आफ्नो सेवा सञ्चालन गरिरहेका छन् । यी माध्यमबाट हुने कारोबार भने पेमेन्ट स्वीचमा आउने छैनन् । यसबाहेक क्यूआरदेखि अन्य प्रकारका कारोबार स्वीचमार्फत हुने बताइएको छ । पेमेन्ट स्विच सञ्चालनमा आएपछि विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर– आबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू उपलब्ध हुनेछ ।

‘यसले सञ्चालनमा रहेका पीएसओ कम्पनीको व्यवसाय देखेपछि राष्ट्र बैंकले एकाधिकार जमाउने चाहना राखेको देखियो,’ बैंकिङ्ग समाचारसँग कुराकानी गर्दै एक पीएसपी सञ्चालकले भने, ‘एनसीएचएल आफैँ सेवाप्रदायक र पूर्वाधार निर्माण गर्ने कम्पनी बन्ने दौडमा छ । यसबाट नेपालमा इनोभेसन नै मर्छ ।’

हामी लगानी गर्छाै‍, एउटै क्षेत्रमा धेरै लगानी चाहिँदैन – एनसीएचएल

‘नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रविधिको विकास र प्रयोगकर्तालाई बानी पार्न यसअघिदेखि नै सञ्चालनमा रहेका कम्पनीहरुको ठूलो योगदान छ,’ एउटा पीएसपी कम्पनीको प्रमुख कार्यकारी अधिकृत भन्छन् । तर, पेमेन्ट स्वीचको मुख्य उद्देश्य (आफ्नै कार्डको योजना) छाडेर ती कम्पनीभन्दा पनि माथि रहने गरी आउन खोज्नु भविष्यको खोज रोक्ने चाहनाअनुरूप रहेको ती प्रमुखले भने ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान भारत लगायत अन्य देशमा पनि नेश्नल पेमेन्ट स्विच सञ्चालनमा रहेको बताउँछन् । नेपालमा पनि त्यस्तै गरी भुक्तानीका प्रणाली एकत्रित गर्ने लक्ष्यसहित पेमेन्ट स्विच सञ्चालनमा ल्याउने गरी तयार गरिएको उनी बताउँछन् । ‘हामी अपरेटेर पनि हौँ र पूर्वाधार निर्माण पनि गर्छौँ,’ उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने, ‘अब पेमेन्ट स्विच बनेपछि सबैजसो अपरेटरको सेवासमेत त्यहीबाट हुन्छ ।’

उनले भारतको उदाहरण दिएपनि भारतले भुक्तानी प्रयोजनका लागि रूपे सञ्चालनमा ल्याइसकेको छ । तर, नेपालको आफ्नै भुक्तानी प्रयोजनको कार्ड बनाउने योजना पछाडि धकेलिइरहेको छ । यो योजनालाई छाडेर आफैँ पीएसओ र आफैँ पेमेन्ट स्विच बन्ने दौडमा एनसीएचएल लागेसँगै स्वार्थ बाझिने निश्चित छ । किनकि एनसीएचएल स्वयमले विभिन्न कारोबारको माध्यम सञ्चालन गर्दै आइरहेको छ ।

यस्तै, पूर्वाधारमा एनसीएचएलकाे लगानीपछि अन्य कम्पनीले लगानी गर्नु नपर्ने प्रधान बताउँछन् । उनकाअनुसार एनसीएचएलले लगानी गरेपछि देशका सबैजसाे कम्पनीले साेही पूर्वाधार चलाउन सक्छन् । जसकारण एउटै पूर्वाधारमा धेरै लगानी खन्याइरहनु नपर्ने उनको दाबी छ । तर, यसाे गर्दा अहिलेसम्म ९ वटा कम्पनीले गरेको लगानीसँगै नयाँ खोज तथा अनुसन्धान नै मर्छ ।