ओलम्पिकमा कास्यपदक जित्ने गोवर्धनलाई ६५ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

ओलम्पिकमा कास्यपदक जित्ने गोवर्धनलाई ६५ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख रुपैयाँ नै दिने स्पष्ट गरेका हुन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए । ‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ,’ प्रधानमन्त्री भने ।