काठमाडौं – पछिल्लो समय बैंकिङ्ग क्षेत्र तरलता बढेको चिन्तामा छ । बैंक तथा वित्तीय संस्थामा तरलता व्यापकरुपमा थुप्रिँदै जाँदा ऋण लगानी नहुँदा चिन्ता बढेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएपनि यतिबेला कर्जा लगानी सुस्त छ । हाल लगानीकर्ताहरु लगानी गर्नेतिरभन्दा लगानी उठाउँने र कर्जाबाट मुक्त हुनेतर्फ अग्रसर रहेको बैंकमा थुप्रिँदो तरलताले देखाउँछ । कतिपयले यसलाई नेपाल ‘लिक्विडिटि ट्रयाप’तर्फ लम्कने संकेतका रुपमा समेत लिन थालेका छन् । केन्द्रीय बैंककाअनुसार यतिबेला बैंक तथा वित्तीय संस्थामा ७ खर्ब लगानीयोग्य रकम छ । तर यसको लगानी भइरहेको छैन । निजी क्षेत्रमा आत्मविश्वास नफर्किदा योजनाअनुरुप लगानी गर्न सकेको छैन । उद्योगधन्दा कलकारखाना ४० प्रतिशत हाराहारीको क्षमतामा चलिरहँदा त्यतातर्फ पनि लगानी बढ्न सकेको छैन ।
नेपालमा जोखिम बढ्दै छ ?
अहिले बैंकहरुमा जति रकम थुप्रिएको छ, योभन्दा बढी रकम थुप्रिन सक्ने डर यतिबेला बढिरहेको छ । पछिल्लो चरणमा देशमा छाएको आर्थिक मन्दीका कारण लगानीकर्ताको मनोबल गिरेकाले पनि लगानी बढ्न सकेको छैन । केन्द्रीय बैंक भने नेपालमा लिक्विडिटी ट्रयापको जोखिम नरहेको बताउँछ । कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बैंकहरुमा तरलता थुप्रिएकै भरमा ‘लिक्विडिटि ट्रयाप’ नै हुने परिकल्पना गर्न नसकिने बताउँछन् ।
‘तरलता व्यवस्थापनको उपाय भनेको सरकारको पुँजीगत खर्च बढाउनु हो,’ उनले भने । आयात घट्दै जाँदा र रेमिट्यान्स बढ्दै जाँदा तरलतालाई सहज पुर्याएको बताउँदै लगानी भने बढ्न नसकेको स्वीकारे । यद्यपी यतिबेला दुई ठूला राजनीतिक दल मिलेर नयाँ सरकार बनाएपछि पुजिँगत खर्च बढ्ने अपेक्षा चारैतर्फ गरिएको छ । निर्माण व्यवसायीहरुको बक्यौतादेखि कोरोना बीमासम्मको भुक्तानी दिने योजना सरकारले बनाएको छ ।
यसो हुँदा निर्माण व्यवसायीमा उत्साह फर्किन्छ र उनीहरुको हातसम्म पुगेको रकम बजारमा छरिन्छ । जसले लगानी बढ्न सहजीकरण गर्छ । यस्तै, नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण प्रसाद अधिकारी हालसम्म नेपाल लिक्विडिटि ट्रयापमा नपरेको बताउँछन् । उनकाअनुसार बचतकर्ताहरुलाई प्रोत्साहन गर्दै केही समयका लागि बढेको तरलताबाट तर्सिन पर्दैन । ‘लगानीको वातावरण बनेमा बैंकमा थुप्रिएको तरलता छिट्टै लयमा फकिन्छ,’ उनी भन्छन् ।
त्यस्तै, अर्थविद दिलनाथ दंगाल ब्याजदर नकारात्मक हुने वित्तिकै नेपालका बैंकहरु टाट पल्टिने बताउँछन् । उनकाअनुसार ब्याजदर घट्दैमा लगानीकर्ताले लगानी नगर्ने बताउँदै ब्याजदर मात्रै घटाइराख्दा बैंकमा ठूलो संकट आउने बताउँछन् । त्यसैले यस्तो अवस्थाबाट जोगिन सबै क्षेत्र चनाखो बन्नुपर्नेमा उनको जोड छ ।
किन बढ्न सकेन कर्जा लगानी ?
बैंक तथा वित्तीय संस्थामा बढेको तरलता बमोजिमको लगानी बढ्न सकेको छैन । लगानीकर्ता र बैंक तथा वित्तीय संस्था दुवैका कारण कर्जा लगानी बढ्न नसकेको सरोकारवालाहरु बताउँछन् । बजारमा लगानीको वातावरण नभएको भन्दै निजी क्षेत्रले लगानी गरिरहेको छैन भने बैंकहरु सुरक्षित स्थान खोजिरहेका छन् । ऋणीहरुबाट नै बैंकको साँवा ब्याज उठाउन असहज हुने परिस्थतीयत सृजना भएपछि बैंकले लगानी नडुब्ने ठाउँको खोजि गर्छन् ।
नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बैंकहरुले नेपाल राष्ट्र बैंकमा ३ प्रतिशतमा बचत राख्नुभन्दा निजी क्षेत्रमा लगानी गर्दा नै फाइदा हुने बताउँछन् । ‘विभिन्न व्यक्तिहरुले धेरै ऋण लिएर अनुत्पादक क्षेत्रमा लगाउने गरेका कारण बैंकले गर्ने विश्वासमा कमी आएको छ,’ उनी थप्छन् । कुनै पनि समयमा देशमा छाएको आर्थिक मन्दी लिक्विडिटि ट्रयापमा प्रभाव पार्न सक्ने जोखिम रहन्छ ।
लिक्विडिटि ट्रयापले आर्थिक मन्दी सिर्जना गर्दछ भने आर्थिक मन्दीले लिक्विडिटि ट्रयाप सिर्जना गर्दैन । बैंक तथा वित्तीय संस्थामा साधारण बचत खातामा धेरै पैसा जम्मा भएको छ र मुद्धति निक्षेपमा कम मात्रै पैसा जम्मा भएको छ भने पनि ब्यक्तिहरुले ब्याजदर बढ्ने अपेक्षाका साथ पैसा साधारण बचत खातामा राखेका हुन्छन् । तर नेपालमा बचत खाता १ लाख ५० हजार ६०८ रहेको छ भने मुद्धति खाता ३ लाख ९६ हजार ५४७ रहेको छ ।
के हो लिक्विडिटि ट्रयाप ?
अर्थशास्त्रीय सिद्धान्तअनुसार जब ब्याजदर ओरालो लाग्दै जान्छ, तब उपभोग्य वस्तु तथा सेवाको माग उकालो लाग्न थाल्छ । साथै यस्तो अवस्थामा सस्तो पुँजी उपलब्ध हुनेहुँदा लगानीकर्ताहरु नयाँ योजना सुरु गर्न र व्यवसाय विस्तारमा लाग्छन् । जसले बजारमा कर्जाको माग बढ्दै ‘लिक्विडिटि ट्रयाप’तर्फ जान्छ । यो यस्तो प्रतिकुल परिस्थिति हो जतिबेला अर्थतन्त्रलाई लयमा फर्काउन नियमकीय निकाय वा सरकारले ब्याजदरलाई न्यून बिन्दुमा झार्दा समेत उपभोक्ता र लगानीकर्ताहरुले आफ्नो उपभोग तथा लगानी घटाउँदै नगद संग्रह गर्न उद्दत हुन्छन् र उच्च तरलताको स्थिति बिकराल बन्दै जान्छ ।
लिक्विडिटि ट्रयाप शब्दावलीको प्रयोग सर्वप्रथम अर्थशास्त्री जोन मेनार्ड केन्सले गरेका थिए । उनले यो शब्दावली अर्थतन्त्रको त्यस्तो विशिष्ट परिस्थितिलाई परिभाषित गर्न प्रयोग गरे जहाँ मानिसहरु आफुसँग भएको पुँजीलाई अत्यन्त न्यून ब्याजदरका बाबजुद यथास्थिति निष्क्रिय राख्न रुचाउँछन् ।
अर्थतन्त्रमा आर्थिक शिथिलताका कारण अन्योलता सृजना हुँदा त्यसबाट बाहिर निस्किन ठोस योजना बनाउनुपर्छ । तर सही योजना कार्यान्वयनन गर्दा र लिइएका निर्णयले चाहेअनुरुपको परिणाम ननिकाल्दा लगानीकर्ता तथा उपभोक्ता दुवैमा आत्मविश्वासको संकट देखापर्दछ । जसले लगानीकर्ता तथा उपभोक्ताहरु निकट भविष्यमा अर्थतन्त्रमा थप संकटको परिकल्पना गर्दै त्यस्तो अवस्थाबाट सुरक्षित रहन लगानी तथा खर्च गर्नुको सट्टा थप नगद संग्रह गर्न थाल्छन् ।
केन्सले मौद्रिक नीति निर्माताहरूलाई मुद्रा आपूर्ति बढाएर वा ब्याजदरलाई थप घटाएर वृद्धिलाई प्रोत्साहन गर्ने उल्लेख गरे । लिक्विडिटि ट्रयाप प्रतिकुल आर्थिक अवस्था हो । लिक्विडिटि ट्रयाप हुँदा लगानीकर्ताहरूले ब्याजदर कम हुँदा पनि खर्च वा लगानी गर्नुको सट्टा नगद जम्मा नै गरिरहेका हुन्छन् । ब्याजदर न्यून बिन्दुमा आउँदा ‘लिक्वीडिटी ट्रयाप’ हुने जोखिम बढ्छ ।
लिक्विडिटि ट्रयापको अन्तर्राष्ट्रिय अवस्था ?
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदै जाँदा ब्याजदर ऋणात्मक पनि हुन्छ । जापानको तरलतालाई हेर्ने हो भने लिक्विडिटि ट्रयापको उदाहरण पाउन सकिन्छ । जहाँ ब्याजदर नकारात्मक हुँदै शून्य प्रतिशतभन्दा कम रहन पुग्छ। जापानमा बिरलै मात्र ब्याजदर धनात्मकमा जाने गर्दछ। लिक्विडिटि ट्रयाप हुँदा बैंकहरुलाई राम्रो लगानीकर्ता भेट्न पनि मुस्किल हुने गरेको विज्ञहरुको बुझाइ छ।
प्रतिक्रिया