बैंकिङ्ग समाचार, काठमाडौं ।
ह्वाट्स एप, अहिलेको अबस्थामा बिश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एप हो जसलाई संसार भरिका २ अर्ब बढि मानिसहरुले प्रयोग गर्छन् । इन्टरनेट प्रयोग गर्ने कुल जनसंख्याको ७० प्रतिसतसँग ह्वाट्स एप एकाउन्ट रहेकोछ र ह्वाट्स एपमा दिनहुँ १०० अर्ब मेसेजको आदान–प्रदान हुन्छ । ह्वाट्स एप यति धेरै लोकप्रय हुनुमा यसको सबैले सजिलै प्रयोग गर्न सक्ने प्रयोगकर्ता मैत्री विशेषताहरु र अर्को यो एक फ्रि एप हो जसमा प्रयोगकर्ताले कुनै प्रकारको शुल्क तिर्नु पर्दैन ।
त्यसको अतिरिक्त ह्वाट्स एपमा अन्य फ्रि एपमा जस्तो विज्ञापन आउदैन । तसर्थ यो प्रश्न उब्जिन्छ ह्वाट्स एपले कसरि पैसा कमाउँदछ ? न त यसले प्रयोगकर्ताबाट पैसा लिन्छ न विज्ञापन बापत पैसा कमाउँछ तब ह्वाट्स एप कसरी चलिरहेको छ त ?
एक भनाइलाई मान्ने हो भने यदि तपाईले कुनैकुरा निःशुल्क पाउनु हुन्छ भने तपाई नै त्यसको उत्पादन हो । त्यसैले प्रश्न उठ्दछ के ह्वाट्स एप साँच्चै फ्रि छ त यदि छ भने यसले पैसा कसरी कमाउँदछ त ?
ह्वाट्स एपको सुरुवात
ह्वाट्स एपको सुरुवात २००९ मा सह–संस्थापक जेन कोम र ब्रायन एक्टनले गरेका थिए । ह्वाट्स एपको सुरुवात गर्नु अघि यि दुबै ‘याहू’मा काम गर्थे, त्यसबेला सम्म फ्रि मेसेजिङको सुबिधा लोकप्रिय थिएन, मान्छेहरु सन्देश आदान–प्रदान गर्न मोवाइल एसएमएस एपको प्रयोग गर्थे जुन निकै महँगो हुन्थ्यो ।
त्यसैले जेन कोम र ब्रायन एक्टनले यस्तो एपको निर्माण गरे जसमा तुरुन्तै मेसेज आदान–प्रदान गर्न सकिन्थ्यो त्यो पनि निःशुल्क तर सुरुमा यो एप मेसेज गर्न भन्दा पनि स्ट्याटस अपडेटको लागि मात्र बनाइएको थियो । जब सन् २००९ मा एप्पलले पुस नोटिफीकेसनको सुरुवात गर्यो, जसमा बिभिन्न एपहरुका नोटिफीकेसन मोबाइलको होम स्क्रिनमा देखिन्थ्यो । यसैले गर्दा जब ह्वाट्स एप प्रयोगकर्ताले आफ्नो स्ट्याटस अपडेट गर्थे उसको कन्ट्याक्टमा भएका सबैलाई नोटिफीकेसन जान्थ्यो ।
खासमा ह्वाट्स एपको नामकरण अंग्रेजी शब्द 'ह्वाट्स अप' बाट आएको हो जसको अर्थ 'के छ' वा 'के हुदैछ' भन्ने हुन्छ । त्यसैले मानिसहरु पुस नोटिफीकेसनको सेवालाई प्रयोगमा ल्याउदै ह्वाट्स एपमार्फत स्ट्याटसको माध्यमबाट मेसेजिङ एपमा जस्तै एक अर्का सँग कुरा गर्न थाले । जस्तैः कसैले ह्वाट्स एपमा म फिल्म हेर्दैछु भनेर स्ट्याटस राख्यो भने उसको कन्ट्याक्टसमा भएका सबैलाई नोटिफीकेसन जान्थ्यो र उनीहरुले कुन फिल्म भन्दै स्ट्याटसकै माध्यमबाट सोध्ने गर्थे यसरी ह्वाट्स एपमा च्याट हुन थाल्यो ।
यहि अवस्थालाई हेरेरै ह्वाट्स एपका संस्थापकहरु जेन कोम र ब्राएन एक्टनले ह्वाट्स एपमा मेसेजको सुविधा थप गरे जसले ह्वाट्स एपमा नयाँ अध्यायको सुरुवात गर्यो र ह्वाट्स एप अझ धेरै लोकप्रिय हुन थाल्यो ।
२००९ सम्म ह्वाट्स एप आई–फोनमा मात्रै सपोर्ट गथ्र्यो र यसको लोकप्रियतालाई हेर्दै २०१० बाट भने एन्ड्रोइडमा पनि चल्ने बनाईयो । तर यसको यति धेरै लोकप्रियताको बावजुद ह्वाट्स एप फ्रि थियो र यससँग पैसा कमाउने कुनै रणनीति नै थिएन त्यसैले यसमा कुनै पनि लगानीकर्ताहरु लगानी गर्न चाहदँैन थिए ।
फ्रि एपले पैसा कमाउने ३ तरिकाहरु
कुनैपनि फ्रि एपले पैसा कमाउने मुख्यतः तिन तरिकाहरु हुन्छन् । पहिलो भनेको विज्ञापनबाट जस्तै अन्य फ्रि एपहरु गुगल, फेसबुक, युट्युब लिन सकिन्छ जसले फ्रि भएर पनि ठुलो आकारको नाफा कसरी कमाउदछन् र यि कम्पनीहरु नै संसारका सबैभन्दा मूल्यवान कम्पनीहरु कसरी भए भन्दा विज्ञापनले गर्दा नै हो । तर ह्वाट्स एपले आफ्नो एपमा कुनै पनि विज्ञापन नराख्ने भनेर कडा नीति आत्मसात गरेको छ । त्यसैले विज्ञापनबाट पैसा कमाउने ह्वाट्स एपको लागि विकल्प थिएन ।
फ्रि एपले पैसा कमाउने अर्को उपाय हो 'इन एप परचेज' भन्नाले एप भित्र यसको फिचर्सहरु प्रयोग गरे बापत प्रयोगकर्ताबाट पैसा लिने तर ह्वाट्स एपलाई यो विकल्प पनि अपनाउनु थिएन । त्यसैले तेस्रो तथा अन्तिम विकल्प हो एप प्रयोगकर्ताको डाटा बेच्ने, जसमा प्रयोगकर्ताहरुको विभिन्न जानकारी अन्य कुनै कम्पनीलाई बेचिदिने । तर ह्वाट्स एपका दुबै सह–संस्थापकहरु गोपनीयताको वकालत गर्थे त्यसैले ह्वाट्स एप पैसा कमाउन डाटा बेच्ने काम गर्नेवाला थिएन ।
ह्वाट्स एपसँग पैसा कमाउने कुनै तरीका थिएन तर यसको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै यसलाई अझ माथि पुर्याउन र नयाँ 'फिचर्स' हरु ल्याउन ह्वाट्स एपलाई धेरै पैसाको आवश्यकता थियो ।
त्यसैको कारण ह्वाट्स एपले '१ डलर फि' को सुरुवात गर्यो जसमा ह्वाट्स एप प्रयोग गरे बापत मानिसहरुले वर्षको १ डलर तिर्नु पर्ने भयो तर यो अनिवार्य भने थिएन एक 'डोनेसन' जस्तै थियो र कसैले १ डलर नतिरे पनि ह्वाट्स एप चलाउन भने पाँउथे ।
यस योजनाले ह्वाट्स एपलाई नाफा नदिएपनि उसको संचालन लागत केहि हद सम्म उठाउथ्यो । त्यस पछि यो एपमा नयाँ फिचर्सहरु जस्तै फोटो सेयरिङ, फाइल सेयरिङ आदि थपिदै गए । जति फिचर्सहरु थपिदै गए यसका प्रयोगकर्ताहरु पनि बढ्दै गए त्यसै कारणले ठुला ठुला लगानीकर्ता एवम् कम्पनीहरुले लगानी गर्न थाले । जति धेरै लगानी आउथ्यो त्यो सबै ह्वाट्स एपले आफ्नो एपलाई अझ राम्रो बनाउन प्रयोग गर्दथ्यो । जसले गर्दा प्रयोगकर्ताहरु झनै बढ्दै गए फलस्वरुपः नयाँ लगानीकर्ता पनि भित्रिन थाले, यहि क्रममा २०१४ मा फेसबुकले ह्वाट्स एपलाई १९ अर्ब डलरमा खरिद गर्यो ।
ह्वाट्स एपको नयाँ अध्याय
जब ह्वाट्स एपलाई फेसबुकले १९ अर्ब डलरमा खरिद गर्यो यो सबैका लागी आश्चर्यजनक थियो किनकि २ वर्ष अघि फेसबुकले मात्र १ अर्ब डलरमा इन्टाग्रामलाई खरिद गरेको थियो । त्यसैले पैसा कमाउने कुनैपनि उपाय नभएको ह्वाट्स एपमा १९ गुणा बढि लगानी फेसबुकले किन गर्यो भन्ने सबैको जिज्ञासा थियो । त्यसमाथि यति बेला ह्वाट्स एप घाटामै चलिरहेको थियो र यसबेला सम्म फेसबुकको आफ्नै मेसेन्जर एप आइसकेको थियो त्यैपनि किन फेसबुकले यति धेरै पैसा हालेर ह्वाट्स एप खरिद गर्यो ? यसको सिधा जवाफ थियो प्रयोगकर्ताको डाटा, फेसबुकको व्यापार मोडेल भनेकै प्रयोगकर्ताको डाटा जम्मा गर्ने र पर्सनलाइज्ड विज्ञापनहरु देखाउने हो ।
गोपनियताको मामलामा फेसबुकको प्रतिष्ठा कस्तो छ यो सबैलाई थाह भएकै कुरा हो । त्यो बेलामा मेसेन्जर सँग भन्दा ह्वाट्स एपसँग धेरै प्रयोगकर्ताहरु थिए त्यसैले ह्वाट्स एपलाई खरिद गरेर फेसबुकले पहिले त आफ्नो प्रतिस्पर्धी हटायो दोस्रोमा ह्वाट्स एपसँग भएका असंख्य प्रयोगकर्ताको डाटामा पहुँच पायो ।
२०१६ मा ह्वाट्स एपले सदस्य भएबापतको शुल्क पनि लिन छोड्यो । विकाससिल राष्ट्रका मान्छेहरुले पनि ह्वाट्स एपको प्रयोग गरुन भनेर यो शुल्क हटाइएको थियो । जसले गर्दा फेसबुकसँग धेरैको परिचय भयो ।
फेसबुकले ह्वाट्स एप किन्दा एउटा सम्झौता गरेको थियो । जसमा लेखिएको थियो फेसबुक र ह्वाट्स एप दुई फरक स्वतन्त्र कम्पनी भएर चल्ने छन् र फेसबुकले ह्वाट्स एपको डाटा प्रयोग गर्ने छैन । यसकै आधारमा ह्वाट्स एपका संस्थापकले यो सम्झौतामा हस्ताक्षर गरेका थिए । तर पछि फेसबुकले सम्झौता बमोजिमको कार्य नगरेको र फेसबुकसँगको आन्तरिक द्धन्द्धका कारणले २०१७ मा ह्वाट्स एपको सह–संस्थापक ब्रयन एक्टनले राजिनामा दिए । एक्टनले कम्पनी छोडेपछी ट्टिटरमा ‘डिलेट फेसबुक’ भनेर ट्टिट पनि गरेका थिए ।
यसपछि उनले आफै ह्वाट्स एप जस्तो एप बनाए, जुन एपको नाम सिग्नल राखिएको थियो । धेरैले ह्वाट्स एपलाई सिग्नल सँग तुलना गर्ने गरेका छन । यी दुईओटाको एपको सस्थापक एकै व्यक्ति हुन । सिग्नल पनि ह्वाट्स एपकै जस्तो बिशेषता भएको एप हो । तर सिग्नल एउटा पैसा कमाउँनको लागि खोलिएको एप भने होइन, किनकी यसमा पैसा भन्दा पनि प्रयोगकर्ताको डाटा सुरक्षा र गोपनियतालाई बढी महत्व दिएको छ । हुनत ह्वाट्स एपले पनि सुरुवातमा यहि कार्य गर्दै आएको थियो । तर फेसबुकले किने पछि भने ह्वाट्स एप र फेसबुकको कार्य योजना एउटै हुन गयो । त्यहिकारणले केहि समय पछी ह्वाट्स एपका अर्का संस्थापक जेन कोमले पनि कम्पनी छोडे ।
विवादमा किन आउने गर्छ ह्वाट्स एप
ह्वाट्स एप जब एक स्वतन्त्र एप रहेको थियो त्यस समयमा ह्वाट्स एपले आफ्ना प्रयोगकर्ताको व्यक्तिगत डाटा एकदमै गोप्य राख्ने गर्दथ्यो । तर जब फेसबुकसँग ह्वाट्स एपको अधिकार गयो तब बाट ह्वाट्स एप विवादबाट टाढा बस्न सकेन । किनभने फेसबुकले ह्वाट्स एप किनेपछि ह्वाट्स एप प्रयोग कर्ताको डाटाहरु गोप्य हुन सकेन ।
सन् २०२१ को सुरुवातमा ह्वाट्स एपले प्रयोगकर्ताको अनगिन्ती विवरणहरु जस्तै फोन डिटेल, मोवाइल कम्पनी डिटेल, लग इन एक्टिभिटी, आइ.पि एडरेस, मेल आइ.डि लगायत सङ्गकल गर्ने गरेको तथ्य बाहिरीयो जसले गर्दा धेरै प्रयोग कर्ताहरु ह्वाट्स एपलाई छोडेर टेलिग्राममा लाग्न थाले । तर टेलिग्राममा पनि प्रयोगकर्ताको डाटा झनै असुरक्षित भएको थाह भएपछि धेरै मान्छे फेरी ह्वाट्स एपमै फर्किए ।
ह्वाट्स एपलाई एउटा आरोप लाग्ने गर्छ यसले प्रयोगकर्ताको मेसेज हर्ने गर्छ भनेर तर हाल सम्म यो प्रमाणित भने भएको छैन् । फेसबुक मात्र होइन धेरै कम्पनीहरुले आफ्नो प्रयोगकर्ताको डाटा तथा अन्य विभिन्न विवरण जम्मा गर्छन् तर त्यो कम्पनीले प्रयोगकर्ताको डेटालाई कसरी प्रयोग गरेकोे छ भन्ने बिषय महत्वपूर्ण हो ।
कसरी कमाउँछ ह्वाट्स एपले पैसा ?
पहिले ह्वाट्स एपले ‘१ डलर फि’ बाट पैसा कमाउथ्यो । पछी लगानीकर्ता मार्फत पैसा पायो । अन्तमा फेसबुकले खरिद गर्दा यसले १९ अर्ब कमायो । अहिले भने ह्वाट्स एपले दुई तरिका ‘ह्वाट्स एप फर बिजनेस’ र ‘ह्वाट्स एप पे’ बाट पैसा कमाउने गरेको छ ।
ह्वाट्स एप बिजनेस
यो ह्वाट्स एपको यस्तो सेवा हो जसले ब्यवसायहरुलाई ग्राहकसँग जोड्ने काम गर्छ । विभिन्न ठुला कम्पनीहरु जस्तै नेटफ्लिक्स, उबर, बुकिङ डट कम आदीले यसको प्रयोग गरेर आफ्नो सेवाग्राहीहरुसँग जोडिने गरेका छन् । यो एक छुट्टै एप हो जसमा बिजनेस खाता खोल्न मिल्छ र यसले जुन ब्यवसायले आफ्ना ग्रहाकको मेसेज २४ घण्टा भन्दा ढिलो रिप्लाई गरेमा पैसा लिने गर्दछ ।
ह्वाट्स एप पे
ह्वाट्स एप पे नेपालमा कानुनी मान्यता प्राप्त नगरेको भएपनि अन्य मुलुकमा परिक्षण हुदैछ । यसको काम भनेको कसैलाई पैसा पठाउने वा पाउने हो । ह्वाट्स एप पे मार्फत कारोबार गरेवापत ब्यवसायहरुले ३.९९ प्रतिशत पैसा ह्वाट्स एपले कमिसन काट्नेछ ।
यसका अतिरिक्त ह्वाट्स एपले चाँडै एप भित्र विज्ञापन राख्न लगेको छ । ह्वाट्स एपले स्ट्याटस खण्डमा विज्ञापन राख्ने तयारी गरेको छ ।
आम्दानी कै कुरा गर्दा ह्वाट्स एपले कति आर्जन गर्छ भन्ने फेसबुक कम्पनीलाई बाहेक अरुलाई थाहा छैन । ह्वाट्स एपको एउटा फाईदा के छ भने यसको प्रयोगकर्ताको संंख्या धेरै रहेको छ । ह्वाट्स एपको प्रयोग करिब दुई अर्ब भन्दा धेरै मान्छले गर्छन । यसलाई मुद्रीकरण गर्ने हो भने फेसबुकलाई पैसा कमाउन भने गाह्रो पदैन । तर फेसबुकको लागि पैसा भन्दा पनि डाटा बढी महत्वपूर्ण रहेको छ । त्यही उपलब्ध डाटालाई बेचेर नै फेसबुकले धेरै आम्दानी गर्ने सोच राखेको छ ।
प्रतिक्रिया