ग्लोबल आइएमई बैंकले खोज्यो नाफा बढाउने अर्को स्रोत, सि-आस्वा सेवामा प्रति आवेदन १५ रुपैयाँ शुल्क लिने

ग्लोबल आइएमई बैंकले खोज्यो नाफा बढाउने अर्को स्रोत, सि-आस्वा सेवामा प्रति आवेदन १५ रुपैयाँ शुल्क लिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी सुविधा उपलब्ध गराए बापत ग्राहकबाट प्रतिआवेदन १५ रुपैयाँ सि-आश्वा शुल्क लिने भएको छ । यसअघि निःशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले फागुन ४ गतेदेखि सिआस्वा शुल्क बापत सर्बसाधरणबाट १५ रूपैयाँ शुल्क असुल्ने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै फागून ४ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरिएको जनाएको छ ।

धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मा बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सो भन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था छ ।

तीव्र प्रतिस्पर्धा र बैंकहरुबाट निक्षेप बाहिरिने क्रम रोक्न यसअघि एक सय रुपैयाँसम्म शुल्क लिने बैंकहरुले निशुल्क सि आश्वा उपलब्ध गराएका थिए । तर पछिल्लो समय आईपीओ प्रति लगानीकर्ताहरूको बढ्दो आकर्षणका कारण आवेदक २५ लाख रुपैयाँ नाघिसकेको छ ।

आवेदक बढ्दै जान थालेपछि बैंकहरुले निः शुल्क रहेको सि-आश्वा सेवालाई शुल्कसहित उपलब्ध गराउन थालेका हुन् ।

अझैपनि राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र मेगा बैंकले आफ्ना ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा प्रदान गर्दै आइरहेका छन् भने स्ट्याण्डर्ड चार्टड बैंकले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिने गरेको छ । अन्य बैंकहरुले १० देखि २५ रुपैयाँसम्म शुल्क लिँदै आइरहेका छन् ।

अत्याधिक आवेदनका कारण धेरै पटक आईपीओ नपर्ने तर बैंकहरुले लगानीकर्ताहरूबाट प्रत्येक आवेदनमा शुल्क असुल्न थालेपछि लगानीकर्तामा थप आर्थिक भार थपिएको छ ।

कतिपय लगानीकर्ताले सेयर परे मात्र सी आस्वा शुल्क लिनुपर्ने भन्दै हरेक पटक शुल्क लिनु जायज नभएको गुनासो गरेका छन् । यद्यपी बैंकहरुले आईपीओ आवेदक अत्याधिक हुन थालेपछि सिआश्वा शुल्कलाई पनि आम्दानीको स्रोत बनाउन थालेका छन् ।