अमृत पुडासैनी, काठमाडौं ।
कसरी उत्पन्न भयो क्रिप्टोकरेन्सी कारोबार ?
क्रिप्टोकरेन्सी लाई बुझ्नु भन्दा अगाडी करेन्सी अर्थात मुद्राको बारेमा बुझ्नुपर्छ । यसको सुरुवात कसरी भयो ? परापुर्व कालमा पैसाको नहुँदा पनि सट्टा–पट्टामा काम चल्थ्यो । तर सट्टा–पट्टा बाट मात्रै समाजको आवश्यकता पुरा हुन सकेन ।त्यसपश्चात सिक्का पैसाको कारोबार सुरु भयो । त्यसवखत बहुमुल्य धातुबाट सिक्का बनाइन्थ्यो । सोही सिक्कालाई मुद्राको रुपमा प्रयोग गरिन्थ्यो । इस्वी ७०० अघि लिरिया भन्ने ठाउँ हालको टर्कीबाट पहिलोपटक सिक्काको कारोबार सूरु भएको थियो । विस्तारै अरु देशहरुले पनि आफ्नै मुल्य निर्धारण गर्दै विभिन्न प्रकारका सिक्काहरु बनाउँन थाले । त्यसले गर्दा मुल्य निर्धारण गर्न, व्यापार गर्न सजिलो भयो । अन्ततः त्यसवखत कागजी नोटको पनि सोच उत्पन्न भयो । तर, त्यस समयको कागजी नोट हालको जस्तो थिएन किनकी उक्त समयमा नोटको तुलना सुन, चाँदीसँग गरिन्थ्यो । अहिले जसरी पैसाको महत्व छ त्यसबेला भने मात्र सुन, चाँदीको महत्व हुन्थ्यो । तर सुन, चाँदी बोकेर हिड्न गाह्रो हुन्थ्यो तर पैसा भने सजिलै बोकेर हिँड्न सकिन्थ्यो र सुन वा चाँदीसँग कागजी नोट साट्न मिल्छ भनेर राज्यले ग्यारेन्टी दिन्थ्यो । हालको आधुनिक मुद्रालाई सुन वा चाँदीसँग साट्न मिल्दैन किन्न मात्र मिल्ने हो तर त्यस समयमा भने पैसासँग सुन, चाँदी साट्न मिल्थ्यो ।
हालको मुद्रालाई फायात मनी भनिन्छ । जसलाई सरकारले कानुनी तबरबाट नै मान्यता दिएको छ । सरकारको मान्यता बेगर पैसाको महत्व हुँदैन। उदाहरण हाम्रै देशको पैसामा राष्ट्र बैंकको गर्भनरको हस्ताक्षर रहेको हुन्छ । त्यस हस्ताक्षर बिना पैसाले मान्यता पाउँदैन । नेपालमा मात्र नभएर हरेक देशमा यही मान्यता रहँदै आएको छ । तर सिक्का र कागजी नोटहरुको कुरा गर्दै गर्दा संसारमै तरगं पैदा गरेको क्रिप्टोकरेन्सीसँग के सम्बन्ध छ त ? हालको हाम्रो आर्थिक कारोबारलाई नियन्त्रण गर्ने निकाय सरकार वा केन्द्रीय बैंकसँग आधारित छ । हाम्रो पैसा सरकार र केन्द्रिय बैंकले नियन्त्रण गर्छ । कति पैसा छाप्ने, कति पैसाको मुल्य (महत्व) कति हुन्छ, पैसाको नियन्त्रण देखि पैसासँग सम्बन्धित सबै कुराको निर्णय केन्द्रीय बैंक र सरकारले गर्छ । उदाहरणकै लागि हामी बैंकमा खाता खोल्छौ र त्यस खातामा पैसा जम्मा गर्छौ । किनकी बैंकले हाम्रो पैसा सुरक्षित राखिदिन्छ भन्ने हाम्रो विश्वास छ । खातामा पैसा जम्मा गरेवापत बैंकले हामीलाई ब्याज पनि दिन्छ । तर बैंकले कसरी नाफा कमाउँछ त ? भन्ने पश्न पनि आउँछ । हामीले राखेको पैसा बैंकले अरु कसैलाई ऋणमा (कर्जा) दिन्छ वा अरु कुनै आयोजनामा लगानी गर्छ । त्यसबाट आम्दानी भएको सानोे भाग हामीले पाउँछौँ भने अरु बैंकले राख्छ । यही नै बैंकको फाइदा हो । तर यदि हामीले विश्वास गरेर राखेको बैंकले गैर–कानुनी क्षेत्रमा लगानी गरेर गुमाईदियो भने के होला ? यो आजको अत्यन्तै महत्वपूर्ण प्रश्न हो ।
अमेरिकाको त्यो घटना जसले जन्माइदियो क्रिप्टोकरेन्सी
सन् २००८ मा अमेरिकामा ठुलो आर्थिक मन्दी भएको थियो । त्यसबेला अमेरिकका बैंकहरुबीच चर्को प्रतिशपर्धा चलेको थियो । को ठुलो र शक्तिशाली बन्ने भन्ने होड चलेको थियो । तर बैंकहरुले नयाँ ग्राहक आफ्नो कब्जामा ल्याउनको लागि विभिन्न शिर्षकमा चुनौतीपूर्ण कर्जाहरु दिन थाले । तर प्रवाह गरेको कर्जा फित्र्ता हुनै नसकेपछि थुप्रै बैंकहरुको अस्तित्व नै समाप्त भयो । बैंकको अस्तित्व नै समाप्त भएपछि बैंकमा राखेको पैसा पनि गयो । अमेरिकि सरकारले बैंकहरुको आर्थिक अवस्था सुझाउन बैंकहरुलाई केहि पैसा दिने निर्णय गर्याे । तर, सरकारको पैसा भनेकै जनताको पैसा हो जुन राजस्वको रुपमा जनताबाट सरकारले उठाउँदै आएको हुन्छ । यस्तो घटनाले बैंक तथा वित्तिय संस्थाहरुप्रति जनताको विश्वास नै घट्यो । यो घटनाले अमेरिकाको अर्थतन्त्र मात्रै नभई समग्र विश्व अर्थतन्त्रमा नै असर पार्याे । नागरिकले दुःख गरेर कमाएको पैसामा सरकार वा केन्द्रीय बैंक वा कुनैपनि आर्थिक कारोवारी संस्थाले नियन्त्रित हुनुहुन्छ वा हुदैन भन्ने बिभिन्न विचारहरु आउँन थाले ।
एउटा लेख जसले ल्यायो विश्व अर्थतन्त्रमै क्रान्ति
यसै क्रममा ‘सातोशी नाकामोटो’ नामका अमेरिकी नागरिकले एउटा लेख प्रकाशन गरे । त्यस लेखमा यस्तो आर्थिक कारोबारको विचार थियो, जसमा हाम्रो पैसाको नियन्त्रण न सरकारसँग हुन्छ न त केन्द्रिय बैंकसँग नै न त अरु कुनै आर्थिक कारोबार गर्ने संस्थासँग नै । जहाँ हाम्रो पैसा मात्र हाम्रो नियन्त्रणमा हुन्छ भन्ने लेख प्रकाशित गरेका थिए । यही विचार थियो क्रिप्टोकरेन्सीको । क्रिप्टोकरेन्सी एउटा आधुनिक आर्थिक कारोबार हो । जसमा सरकार वा केन्द्रीय बैंकको नियन्त्रणमा हुदैन । जसरी नेपाली रुपैंयालाई नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्छ, त्यसरी नै अन्य मुलुकको पैसालाई पनि त्यहाँको केन्द्रीय बैंकले नियन्त्रणमा राखेको हुन्छ । तर क्रिप्टोकरेन्सीलाई भने कुनैपनि देशको बैंकले नियन्त्रण गर्दैन । यसको न कुनै भौतिक रुपमा छाम्न वा अरु नोट जसरी यसलाई हातमा वा बोकेर राख्न नै सकिन्छ । यो केवल एउटा ‘भर्चुअल मनी’ हो । यो ईन्टरनेटमा मात्र सिमित हुन्छ । यस्तो विचार ल्याउँने व्यक्ति ‘सातोशी नाकामोटो’ को हुन् त ? यो हाल सम्म कसैलाई पनि थाहा छैन । तर उनलाई जनमानसले भने क्रिप्टोकरेन्सीको पिताको रुपमा मान्ने गर्दछन । उनले २००८ मा लेखेको लेख लेखेपछि २००९ मा ‘विटक्वाईन’को सुरुवात भयो । ‘विटक्वाईन’ पहिलो क्रिप्टोकरेन्सी हो । त्यसपछि इथेरियम क्वाइन, लाइट क्वाइन, रिप्पल क्वाइन जस्ता क्रिप्टोकरेन्सी १० हजारभन्दा बढि क्रिप्टोकरेन्सी विश्व बजारमा आइसकेका छन । १३ बर्ष अघि क्रिप्टोकरेन्सी एक अनजान व्यक्तिको विचार मात्र थियो । तर अहिले यसको व्यापार करोडौमा हुन्छ । जसरी शेयर बजारमा शेयरको ब्यापार हुन्छ त्यसरी नै क्रिप्टोकरेन्सीको ब्यापार भइरहेको छ । आजकै दिनमा एउटा ‘विटक्वाइन’ को मुल्य ४५ लाख ८५ हजार ६ सय ५६ रुपैंया ५० पैसा रहेको छ ।
कसरी कारोबार हुृन्छ क्रिप्टोकरेन्सी, कसले गर्छ नियन्त्रण ?
हरेक बैंकले आफ्नो खाताको नियन्त्रण आफैले गरेको हुन्छ । जसमा ग्राहकको खातामा कति पैसा छ, कति पैसा खाताबाट निकालियो, कति पैसा खातामा डिपोजिट गरियो भन्ने जस्ता कुराको जानकारी बंकले राख्छ । कसैलाई पैसा पठाएको खण्डमा बैंकले खाताको अपडेट पनि गर्छ । क्रिप्टोकरेन्सीको पनि यस्तै हो । तर यसमा बैंक वा कुनैैपनि नियन्त्रण गर्ने निकायहरु हृुदैनन् । क्रिप्टोकरेन्सीलाई सुरक्षित ढँगले लेनदेन गर्न ‘इन्क्रीपसन’को प्रयोग गरिएको हुन्छ । यसमा हामीलाई नीजी र सार्वजनिक ‘कि’ चाहिन्छ । तवमात्र ‘क’ को पैसा ‘ख’ लाई जान्छ । यसलाई हामीले एटीएम कार्डको पिन जसरी मान्न सकिन्छ । पिन भएको मान्छेले मात्र एटीएमबाट पैसा निकाल्न सक्ने भयो । तर यसलाई प्रमाणित कसले गर्ने त ? मानौ, ‘क’ ले ‘ख’ लाई १० वटा विटक्वाइन पठाउनु पर्ने छ, तर ‘क’ सँग १० वटा विटक्वाइन छ कि छैन भन्ने जानकारी कसरी पत्ता लगाउँन सकिन्छ त ? कसले ‘क’ को खाताबाट १० वटा विटक्वाइन घटाउँछ र ‘ख’ को खातामा बढाउँछ ? यसको निरिक्षण गर्ने काम कुनै व्यक्ति वा कम्पनीले नभएर एउटा ठुलो कम्युटर नेटवर्कले गर्छ । त्यो कम्युटरमा जोडिएको हरेक कम्युटरमा विटक्वाइनको खाता हुन्छ । जुुन खातामा कारोबार भइरहेको हुन्छ । तर यो नेटवर्कमा भएको कम्युटर यतिकै चल्दैन यसलाई, चलाउने मान्छे हुन्छन । ति मान्छेलाई ‘क्रिप्टो माइनर’ भनिन्छ । उनीहरुको काम भनेको क्रिप्टोकरेन्सीको कारोबारलाई प्रमाणित गर्ने हो ।
विटक्वाइनको कुरा गर्दा संसार भर लाखौं विटक्वाइन माइनरहरु छन् । जसले लगातार विटक्वाइनको खातालाई प्रमाणित गर्ने अपडेट गर्ने काम गरिरहेका हुन्छन । यी माइनरहरु भनेको कुनै कम्पनीको लागि काम गर्ने व्यक्तिहरु होइनन् । संसारको कुनैपनि कुनामा बसेर जसले पनि विटक्वाइन माइनिङ्गको काम गर्न सक्दछन । तर यो त्यती सजिलो भने छैन । नेपालमा त झन यो कानुनी पनि छैन । माइनरहरुले हिसाब गर्नको लागि धेरै क्षमताको कम्युटरको आवश्यकता पर्दछ । यी व्यक्तिहरुले विटक्वाइन माइनिङ्ग किन गर्छन् त भन्दा, हरेक विटक्वाइन कारोबारलाई प्रमाणित गरे बापत यी व्यक्तिहरुले केही विटक्वाइन पाउँछन् । तर यो क्वाइन कुनै व्यक्तिले दिने भने होइन, सिस्टमले दिने हो । यस प्रकारको कार्यलाई ‘ब्लक चेन टेक्नेलोजी’ भनिन्छ । हरेक पटक जब विटक्वाइनको नयाँ ट्रान्जेक्सन (कारोबार) लाई माइनरहरुले ब्लकमा राखिदिन्छन् । र त्यो ब्लकलाई व्लकचेनमा जोडिदिन्छन् । तर त्यो व्लकलाई व्लकचेनमा जोड्नु भन्दा पहिले त्यहाँ एउटा अतिरिक्त सेक्युरिटी चेक पनि हुन्छ । हरेक व्लकलाई चेनमा जोड्नका लागि माइनरले कोडिङ्ग मिलाउनुपर्ने हुन्छ । यदि त्यो माइनरले दिएको पजल मिलायो भने भने मात्र त्यो व्लक र त्यसभित्रको कारोबारहरु व्लक चेनमा जोड्न्छिन । त्यसपछि मात्र माइनरहरुले रिवार्डको रुपमा सिस्टमबाट केही विटक्वाइन प्राप्त गर्छन् । यसले सम्पूर्ण कारोबारलाई सुरक्षीत बनाउँछ ।
संसारभर रहेका हजारौं–लाखौं कम्युटरमा त्यही एउटा सार्वजनिक खाताको कपी हुन्छ । त्यसैमा हरेक कारोबारको जानकारी हुन्छ । अमेरिकामा रहेको कम्युटरमा पनि त्यही जानकारी हुन्छ, रसिया वा अन्य जुनसुकै देशमा रहेको कम्युटरमा पनि त्यही जानकारी हुन्छ । यो पारदर्शीताले गर्दा कसैले नेटवर्कमा रहेको एउटा कम्युटर ह्याक गरेर त्यहाँको जानकारी फोरबदल गर्न खोज्यो भने पनि सिस्टमलाई थाह भइहाल्छ । किनकी एउटा कम्युटरमा एउटा जानकारी छ, तर अन्य लाखौं कम्युटरमा अर्काे जानकारी छ भन्नेवित्तिकै सिस्टमले बुझिहाल्छ कि, कुनै कम्युटर ह्याक भएको छ । क्रिप्टोकरेन्सीको कारोबार आफैमा सुरक्षित त छ तर पूर्णरुपमा सुरक्षित भने छैन । जस्तै तपाईले आफ्नो निजी ‘कि’ भुल्नुभयो भयो, वा हराउनु भयो, के गर्ने ? यसमा त फोन गर्नको लागि ग्राहक सेवा केन्द्र पनि हुँदैन । समस्या बताउनलाई न यो कुनै बैंक नै हो । जस्तै एटिएम कार्ड वा पिन बिर्सीन्छौ त्यस अवस्थामा बैंकलाई फोन गर्छाैं, वा बैंकमा जान्छौ र बनाएर ल्याउँछौ । तर क्रिप्टोकरेन्सीमा न कुनै बैंक न कुनै अरु माध्यम नै छ, हाम्रो पैसा मात्र हाम्रो साथमा हुन्छ । यसले गर्दा हामीले ‘पिन’ हरायौं भने, त्यो फर्किने कुरै भएन ।
अहिले विश्व बजारमा क्रिप्टोकरेन्सीलाई लिएर धेरै ठगी हुने गरेको पाइन्छ । जस्तै हामीले कसैलाई विश्वास गरेर आफ्नो खाताको जानकारी दियौं र त्यो मान्छेले हाम्रो क्रिप्टोकरेन्सी चोर्याे, भने निवेदन कता गर्ने ? निवेदन गर्ने ठाँउ पनि छैनन् । यस्ता कारणले गर्दा अपराधीहरु अत्याद्यिक सक्रिय हुन्छन् । पछिल्लो एक बर्षमा मात्र क्रिप्टोकरेन्सी ठगीमा परेर ८० लाख गुमाएका छन् । तर जुन चुनौती क्रिप्टोकरेन्सीमा छ, अरु करेन्सीमा पनि चुनौती नै नहुने भन्ने हुँदैन । अझ बढी हुन्छ । जस्तै बैंकको पनि सर्भर ह्याक हुन सक्छ । कसैले पैसा चोरी गर्न सक्छ । नक्कली नोटको समेत विगविगी बढ्न सक्छ । तर क्रिप्टोकरेन्सी अरु भन्दा चुनौतीपूर्ण हुन्छ भन्न अलि मिल्दैन । क्रिप्टोेकरेन्सीको सामान्य समस्या पनि छन । जस्तै विटक्वाइनकै कुरा गरौ, विटक्वाइनको ‘व्लक चेनमा’ कारोबार हुन अलिक बढि समय लाग्छ । एउटा कारोबार पुरा हुनको लागि लगभग १० मिनेट लाग्छ । त्यसैले दैनिक जिवनमा यसको सहज कारोबार गर्न मुस्किल पर्ला । हामी बैंकमा पाँच मिनेट बस्दा त कर्मचारीलाई कराउँछौ भने विटक्वाइनको कारोबारमा त कराउँने ठाँउ सम्म हुँदैन । जस्तै कुनै मानिस सामान खरिद गरी क्रिप्टोमार्फत भुक्तानी दिनलाई १० मिनेट कुर्नुपर्ने हुन्छ । यो क्रिप्टोकरेन्सीको लागि चुनौतीकै रुपमा लिन सकिन्छ ।
बाहिरबाट पैसा पाउन/पठाउन भने सजिलो, तर कसरी ?
हामी एक देशबाट अर्काे देशमा पैसा पठाउँछौं । बैंकहरुले पठाए वापतको केही रकम आफैले राख्ने गर्दछ । अझ छिटो–छरितो पनि हुँदैन । कम्तीमा एक दिन त लाग्छ लाग्छ । तर क्रिप्टो मार्फत पठाएको रकम भने दश मिनेट मै एक देशबाट अर्को देशसम्म सजिलै पुग्छ । अब क्रिप्टोमा कसरी लगानी गर्ने त ? वर्तमान अवस्थामा क्रिप्टोकरेन्सीलाई लगानीकै रुपमा मात्र प्रयोग गर्छन । जस्तै बैंकमा पैसा राख्या जस्तै तर दैनिक जिवनको आवश्यताको हल भने गर्न सकिएको पाइदैन । अझ नोट बजारको अन्त्य गरी क्रिप्टोमार्फत कारोबार गर्नुपर्छ भन्ने ठुलो जमात पनि रहेको पाइँन्छ । भविष्यमा यसको माग पढेपनि हालको समयमा भने यो सम्भव हुने देखिदैन । किनकी यो हालसम्म लगानी गर्ने थलो मात्र बनेको छ । अझ विश्वबाट नोट बजारको अन्त्य भएको खण्डमा यसको प्रयोग कसरी गर्ने भन्ने बारे कुनै विचार नै आएको पाइदैन ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार
नेपालको सन्दर्भमा भन्ने हो भने क्रिप्टोकरेन्सीलाई गैर–कानुनी कामको रुपमा लिईन्छ । नेपाल राष्ट्र बैंकले हालैको हप्तामा एक सुचना जारी गरी नेपालमा बसेर विदेशी नागरिकले र विदेशमा बसेर नेपाली नागरिकले तथा नेपालमै बसेर नेपाली नागरिकले क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउँन पाईदैन भनृेर विज्ञप्ति नै जारी गरेको छ । अझ क्रिप्टोमार्फत कारोबार गर्ने एकै परिवारका ४ सदस्यसहित ३८ करोड रुपैँया अवैध पैसाको कारोबार गर्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । तर नेपाल राष्ट्र बैंकले पनि आफ्नो डिजिटल मुद्रा बनाउँनको लागि अध्ययन गर्दै छ भन्ने पनि सुन्निछ । तर यो डिजिटल करेन्सी क्रिप्टोकरेन्सी जस्तो भने हुदैन । किनकी यसलाई नियन्त्रण गर्ने निकाय भने सरकार वा केन्द्रीय बैंककै हुन्छ । साधारण अर्थमा भन्दा हालको कागजी नोटलाई डिजिटल माध्यममा लग्ने भनिएको मात्रै हो ।
छिमेकी मुलुकहरुमा क्रिप्टोकरेन्सीको अवस्था
छिमेकी मुलुक भारतमा भने क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरु विश्वमै धेरै रहेको पाइन्छ । करीब १० करोड भन्दा बढी जनसंख्याले क्रिप्टोकरेन्सीमा लगानी गरिरहेका छन् । सन् २०१८ मा भारतीय रिजर्भ बैंकले पनि क्रिप्टोकरेन्सीलाई पूर्ण रुपमा प्रतिबन्ध नलगाएको भएता पनि भारतीय रकममा साट्न बन्द गरेको थियो । तर सन् २०२० मा भने त्यहाँको सर्वाेच्च अदालतले भने क्रिप्टोमा कुनै पनि रोक नलगाउनु भन्दै ‘बैंक अफ इंडिया’ लाई अन्तरिम आदेश दिएको थियो । त्यसैले भारतमा क्रिप्टोकरेन्सीप्रति मानिसहरुमा आर्कषित बढ्दै गएको देखिन्छ । त्यस्तै उत्तरतर्फ चिनले पनि केही महिना अघि मात्र क्रिप्टो कारोबारमा प्रतिबन्ध लगाएको छ । विगतमा भने चिनले समेत क्रिप्टोलाई मान्यता दिएको थियो । अन्य थुप्रै मुलुकमा क्रिप्टो खोल्ने र पछि प्रतिबन्ध लगाएको पाइन्छ । तर कतिपय मुलुकले भने क्रिप्टोकरेन्सी मार्फत राम्रो आम्दानी गरिरहेका छन । यस्तै एल साल्भाडोरमा भने विटक्वाइनलाई राष्ट्रिय मुद्राको रुपमा प्रयोग गरिएको छ । साथै धेरै मुलुकले क्रिप्टोकरेन्सीलाई मान्यता दिन बारेमा अध्ययन गरिरहेको पाइन्छ । तर क्रिप्टोकरेन्सीले विश्व बजारमा कानुनी मान्यता पाउँन भने केही समय लाग्ने देखिन्छ ।
प्रतिक्रिया