विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि ‘समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले जनआकाङ्क्षा अनुरुप मुलुकको चौतर्फी विकास र आर्थिक समृद्धिका लागि तीव्र गतिको बोध नेतृत्वले गर्नुपर्ने बताए।

‘मान्छेका आकाङ्क्षा धेरै हुन्छन् । चाहनाअनुरुप केही भइरहेको छ । तर हाम्रो गति चाहिँ तीव्र हुनुपर्छ । किनकी हामी विश्वका अन्य विकसित देशभन्दा झण्डै डेढ सय वर्षपछि छौँ । त्यसलाई भेटाउन चाँडो दौडिनुपर्छ । राजनीतिले यसको नेतृत्व गर्ने भएकाले राजनीतिक नेतृत्वले यसको बोध गरोस् भन्ने सबैको चाहना हो’, उनले भने ।

डा भट्टराईले गणतन्त्रबाट प्राप्त उपलब्धिबारे चर्चा गरे।आर्थिक परिवर्तनका लागि पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्दै उनले यस व्यवस्थामा केही हुँदै नभएको भन्ने गलत भाष्यलाई चिर्नुपर्ने बताए। ‘हामीले राजनीतिक परिवर्तनपछि अब आर्थिक परिवर्तनको युग सुरु भयो भनेका छौँ।त्यसका लागि आधार भनेकै पूर्वाधार हो । केही भइरहेका छन्, केही भइसकेका छन्’उनले भने,‘नेपालमा केही भएको छैन, केही हुँदै भएन भन्ने गलत भाष्य चिर्न यो तस्बिर प्रदर्शनीले सकारात्मक योगदान गर्ने अपेक्षा छ।’