प्रतिनिधिसभा बैठक : दूधको भुक्तानी गर्न सांसदहरुको माग


काठमाडौं – प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गरेका छन् । किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए। धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उनको भनाइ थियो।

‘किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब रु. ६ अर्ब भुक्तानी पाउन बाँकी छ’, प्रमुख सचेतक बर्तौलाले भने–‘किसानले बैँकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन ।’ उनले किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दूधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ’, उनले भनिन्।