चितवनबाट रेशमखेती विस्थापित हुँदै


चितवन – पछिल्लो समय चितवनका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ। केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेशमखेती हुनेमा अहिले यहाँका किसान उक्त पेसाबाट विस्थापित भएका हुन् ।

किम्बू नर्सरी विकास केन्द्र भण्डारा चितवनकी कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार माडी क्षेत्रमा पहिला सहकारी र संस्था दर्ता गरेर रेशमखेती गरिने गरिएकामा अहिले किसान यस पेसाबाट पलायन हुँदै तरकारी बालीतर्फ आकर्षित भएका छन्। ‘रेशमखेतीका लागि लामो समय लाग्ने र व्यवस्थापन झन्झटिलो हुने भएकाले किसानले पेसा परिवर्तन गरेका हुन्,’ क्षेत्रीले भनिन् ।

केन्द्रले अहिले व्यावसायिक रुपमा कोया उत्पादन गर्न छोडेको क्षेत्रीले बतायन्। कोया उत्पादन गरेर निजी क्षेत्रलाई दिनुपर्ने तथा बजार समस्या हुँदा व्यावसायिक रुपमा उत्पादन गर्न छोडेको उनको भनाइ छ। सुरुमा मकवानपुर र चितवनमा रेशम खेतीको प्रसस्त उत्पादन भए पनि अहिले उत्पादन घट्दै गएको उनले जानकारी दिइन् ।

नेपालमा उत्पादित रेशम धागोको बजारीकरण नहुँदा व्यवसायी पलायन भएको प्रमुख क्षेत्रीले बताइन्। उनले भनिन्, ‘बाहिरबाट रेशमको धागो आयात हुन्छ । यहाँको धागोको पहिचान हुँदैन । बजार अभाव हुँदा पेसा नै सङ्कटमा परेको छ ।’ बजार व्यवस्थापनमा समस्या हुँदा लामो समयसम्म कुर्नुपर्ने र राम्रो उत्पादन भए पनि बिग्रने हुँदा यसतर्फ किसानको आकर्षण घटेको उनको भनाइ छ ।

जिल्लामा रेशमखेती गर्ने किसान अहिले छिटो आम्दानी हुने नगदेबालीतर्फ आकर्षित भएका क्षेत्रीले जानकारी दिइन् । उनले भनिन्, ‘अहिले केन्द्रमा उत्पादित किम्बूका बिरुवा २० प्रतिशत पनि रेशम खेतीका लागि जान मुस्किल छ ।’ उनका अनुसार केन्द्रले यसवर्ष पाँच लाख बिरुवा उत्पादन गरेर छ ।

अहिले गर्मी बढेकाले चार लाखसम्म बिक्री गर्ने योजनामा केन्द्र रहेको प्रमुख क्षेत्रीले बताइन्। उनका अनुसार करिब ६ हेक्टर क्षेत्रफलमा किम्बू नर्सरी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित किम्बूका बिरुवा सिन्धुली, गोरखा, काठमाडौंलगायत जिल्लामा जाने गरेको उनले बताइन् ।