काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएकाले नेपालमा लगानी गरेर मुनाफा लिन विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा जारी ११२ औँ अन्तराष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका हुन्।
स्वीट्जरल्याण्डको जेनेभामा जारी सो सम्मेलनमा नेपालका रोजगारदाताहरुको प्रतिनिधत्व गर्दै अध्यक्ष ढकालले नेपालका रोजगारदाताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति सम्वेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा पनि जोड दिए।
सो सम्बोधनमा उनले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरुलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भारतसँग १० हजार मेगावाट बिद्युत खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह पनि गरे।
त्यसैगरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनको भनाई थियो । अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरु नेपालमा लाभका क्षेत्र रहेको विश्वका लगानीकर्ताहरुलाई बता ।
लगानी सहजीकरणका लागि सरकारले द्धिपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागीहरुलाई जानकारी गराए।



About Us
प्रतिक्रिया