काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले बजेटमा देश विकासको एकीकृत योजना हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले कर्णालीमा छोरी खाता कार्यक्रम लागू गरेको बताए ।
सांसद शाहीले सङ्घीय बजेटले महिलालाई आत्मनिर्भर बनाउन कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे । साथै, ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न र उहाँहरुको ज्ञान युवापुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए। बजेटमा देश विकासको एकीकृत योजना हुन आवश्यक रहेको उनको भनाइ थियो ।
सहरी विकास मन्त्रालयले रु. एक लाखदेखि रु. ५० हजारसम्मका टुक्रे बजेट ल्याएको टिप्पणी गर्दै सांसद शाहीले यस्ता योजना नतिजामुखी कार्ययोजना नहुने बताए । टुक्रे बजेट आउनुमा अर्थमन्त्री वर्षमान पुनको दोष नभई विधि र प्रक्रियाको रहेको बताए।
‘विकासका नयाँ मोडलमा योजना बन्नुपर्छ। टुक्रे बजेटले उपलब्धि पाइँदैन’, सांसद शाहीले भने, ‘हाम्रो देशको बजेट अनुत्पादित क्षेत्रमा बढी भयो। उत्पादितमा लगानी गर्नुपर्छ ।’ उनले बजेट देशको साझा मुद्दा भएको हुँदा सबै सांसद र नेतृत्वले यसको सही सदुपयोग गर्न बृहत् छलफल गर्न आवश्यक रहेको बताए । ऋण लिएर अनुत्पादित क्षेत्रमा लगानी गर्नु हुँदैन भन्ने उनको धारणा छ। साथै, आर्थिक कारणले महिलामाथि हिंसा बढेको उल्लेख गर्दै सांसद शाहीले न्यूनीकरणका लागि महिला लक्षित कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।



About Us
प्रतिक्रिया