त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन नमूना अभ्यास सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन नमूना अभ्यास सम्पन्न


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो संकटकालीन नमूना अभ्यास सम्पन्न गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई उडान, सुरक्षा, मेडिकल तथा उद्धारसम्बन्धी विभिन्न निकायको सहभागितामा यो अभ्यास गरेको हो । अभ्यासको क्रममा जहाज दुर्घटनाको अवस्थामा कसरी उद्धार गर्ने भन्ने विषयमा व्यवहारिक अभ्यास गरिएको थियो ।

संकटकालीन अवस्थामा सहभागी निकायहरूबीच सहयोग अभिवृद्धि गर्ने र दुर्घटनाका बेला जनधनको क्षति न्यून गर्ने उद्देश्यले यो अभ्यास गरिन्छ । दिउँसो १ बजे विमानस्थलमा संकटकालीन योजना अनुसार एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट सम्बन्धी पूर्ण कालिन अभ्यास हुने भएकाले आधा घण्टाका लागी विमानस्थलको नियमित उडान केही समेत प्रभावित भएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आइकाओ ) को मापदण्ड तथा त्रिभुवन विमानस्थलको योजनाअनुसार नै यो अभ्यास गरिएको हो । यो अभ्यास केही दिन अघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पनि गरिएको थियो ।