बागमती सफाइ अभियान जेठ ३० गतेबाट

बागमती सफाइ अभियान जेठ ३० गतेबाट


काठमाडौं – यस वर्ष बागमती नदी सरसफाइ महोत्सवको २४औं संस्करण यही जेठ ३० गतेबाट सुरु गरिने भएको छ। नेपाल नदी संरक्षण संस्थाले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा २००१ देखि सुरु गरेको अभियान यस वर्ष नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन पारेर २४ औँ संस्करणको उद्घाटन गर्ने संस्थाकी सुमिक्षा खड्काले जानकारी दिइन्।

नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा विभिन्न कार्यक्रम गरी महोत्सव साढे दुई महिनासम्म मनाउने तयारी आयोजकको छ। नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने अभियान अन्तर्गत साढे दुई महिनासम्म हरेक साता नदि सरसफाइ, पर्यावरणीय संरक्षण लगायतका काम गरिने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए।

भाद्रको पहिलो शनिबार सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमका साथै बाग्मती र्याफ्टीङको आयोजना गरी महोत्सवको समापन गरिने उनले बताए। नेपाल सरकारले आगामी आर्थिक बर्षका लागि बागमती सफाइ र सम्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन गरेको सन्दर्भमा यस कार्यक्रमको महत्त्व झन् बढेको आलेले उल्लेख गरेका छन्।