पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त


दैलेख – जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्ख‍ननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ। ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले जानकारी दिए।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु. दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो।