काठमाडौं– केही दिन अघि सरकारको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एक कर्मचारीले नक्कली सदस्य बनाई बिना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको साँवा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्याे । यस्ता घटनाले लघुवित्तप्रतिको विश्वास कस्तो रहन्छ ? भनेर हामीले ग्रामीण विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनै कटुवालसँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादित अंश (भिडियोसहित ) :
विगत दुई वर्षदेखि लघुवित्त क्षेत्र नै संकटमा पर्याे भन्ने सुन्दै आएका छौं । अहिले लघुवित्तको अवस्था के छ ?
विगत २ वर्ष अघिदेखि लघुवित्त संस्थाहरूको विरुद्धमा अवाञ्छित गतिविधि भइरहेका छन् । त्यस्ता गतिविधिले नकारात्मक प्रभाव पनि पारिरहेको छ । अहिले नेपाल सरकार र आन्दोलित समूहबिच ६ बुँदे सहमति भएको छ । आशा गरौं यसले कुनै निर्णायक बिन्दु तय गर्छ भन्ने आशा गरेका छौं ।
अर्थ मन्त्रालय र आन्दोलनरत पक्षबिच सहमति गरेको देख्दा त लघुवित्त संस्थाको पनि गल्ती थियो कि भन्ने देखिन्छ नि?
समग्रमा हेर्दा त्यस्तो देखिँदैन । केही कमीकमजोरी लघुवित्त संस्थाहरूले गरेका पनि हुन सक्छन् तर अहिले लघुवित्त संस्थाले ग्रामीण भेगका गरिब निमुखाको घाँटी नै निमठ्यो, घरबास उठायो जस्तो आरोप लागेको छ तर त्यस्तो होइन । लघुवित्त संस्थाबाट ऋण लिएका सदस्यहरुले ऋण अपचलन गरेको र लघुवित्तको क्राइटएरिया भन्दा माथिका मानिसहरुले संस्थालाई उछालेर लगेका कारण यस्तो समस्या सिर्जना भएको हो । समस्या छन् यी समस्यालाई दुवै पक्ष मिलेर निचोड निकाल्नुपर्छ ।
केही समय अगाडि तपाईँले नेतृत्व गर्दै आउनुभएको संस्थामा पनि आर्थिक शोषण भएको भन्दै तालाबन्दी नै भयो यस्ता गतिविधिलाई कसरी हेर्नुहुन्छ ?
म नै यो संस्थामा आउँदाको समय र अहिलेलाई हेर्ने हो भने पनि धेरै फरक छ। पहिले बिना धितो ऋण लिएर आफ्नो व्यवसाय गरेकाहरूले लघुवित्त संस्थाले आफ्नो परिवारका अभिभावकले नगरेको काम गर्यो भन्ने किसिमको थियो । समयको अन्तरालभित्र लघुवित्तको सामान्य नीति नियमहरूमा केही तलमाथि भयो होला । त्यसले केही समस्या ल्याएको हो तर अब हामी पुन पहिलेको जसरी अगाडि बढ्न जरुरी छ ।
लघुवित्त बढी नाफा कमाउनेतर्फ मात्र अग्रसर भए भन्ने सुनिन्छ के यो सत्य हो त ?
बैंक तथा वित्तीय संस्था भन्ने बितिकै केही नाफा त कमाउनै पर्छ। लघुवित्त संस्थाले पैसा ल्याउने भनेको कमर्सियल बैंकबाट नै हो। लघुवित्त संस्थाहरूको आम्दानी भन्दा खर्च बढी छ कसरी नाफामुखी हुन सक्छन् ? लघुवित्त संस्था नाफाखोरी भए भन्ने कुरा झुटो हो । र, यसमा सत्यता पनि छैन।
तपाईँले नेतृत्व गर्नुभएको संस्थाका कर्मचारीले किर्ते सदस्य बनाई विना धितो कर्जा दिएको भनेर अख्तियारले मुद्दा दायर गर्याे यस्ता घटनाले लघुवित्तप्रतिको विश्वास गुम्न मदत गर्दैन र ?
लघुवित्त संस्थाहरूले आफै पारदर्शिता अपनाउनु पर्दछ। कर्मचारी स्वनियमनमा बस्नुपर्दछ । लघुवित्तमा इमानदारिता भएन भने संस्था नै चल्दैन। कर्मचारीको तथा ऋणीको पनि इमानदारिता आवश्यक हुन्छ। धितो नभएपछि त विश्वासले नै चल्नुपर्यो। हजार कर्मचारी छन् ती सबैकोमा पुग्न त सकिँदैन तर पनि नियम कानून र संस्थाको विनियामावलीको आधारमा यस्ता गलत काम गर्ने कर्मचारीहरूलाई त हामीले कारबाही गरेका छौँ। यस्तो समस्याहरूको समाधान गर्न कै लागि हामी डिजिटल तर्फ पनि अग्रसर भएका छौँ।
तपाईँले नै नेतृत्व गर्नुभएको संस्थामा कहिले सञ्चालकको कहिले कर्मचारीको विवाद खास व्यवस्थापनमा कमजोरी हो कि जस्तो देखियो नि ?
अपचलन गर्ने कर्मचारीहरूलाई शक्त कारबाही गर्ने गरेका छौं। आजभन्दा ३० वर्ष अघि पनि पैसा अपचलन गरेको कुरा आएको थियो । सञ्चालक विवादको विषयमा भन्नुपर्दा सञ्चालकको कार्यकाल ४ वर्षे हुन्छ। असारमा सकिने तर कोभिड चैतमा नै आएको कारण कोभिडको समयमा नै सञ्चालकको कार्यकाल सकियो। असारदेखि कार्यकाल सुरु हुने गरी चुनाव गर्नुपर्नेमा त्यो गरेन त्यहाँ बोर्ड र व्यवस्थापनको गल्ती भएको छ होला। यस्तै गर्दा यो विषय अदालतसम्म पुगेको थियो।
अब, केन्द्रीय बैंकले लघुवित्त क्षेत्रको वास्तविक महत्त्व बचाउने गरी कस्तो लिएर अघि बढ्नुपर्ला ?
नेपाल राष्ट्र बैंकले यस्तो बेथिति र अराजक अवस्थामा पहल गरिरहेको छ। राष्ट्र बैंकले ऋण मिनाहा हुँदैन तिर्नुपर्दछ भनेर भनिरहेको छ। राष्ट्र बैंकले लिएको एक व्यक्ति एक वित्तीय संस्था नियमले थप सहजता प्रदान गरेको छ। अब राष्ट्र बैंकले अध्ययन समितिले दिएको सुझावलाई क्रमशः लागू गर्ने, कर्जा सूचना केन्द्रलाई पछ्याउने गर्नुपर्छ।
प्रतिक्रिया