वित्तीय प्रणालीमा निक्षेप थपिएपनि सहज भएन तरलता समस्या

वित्तीय प्रणालीमा निक्षेप थपिएपनि सहज भएन तरलता समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

बैंकिङ्ग प्रणालीमा असोज महिना निक्षेप क्रमिक रुपमा बढे पनि तरलता अभावको समस्या सहज हुन सकेको छैन् । यो साताको अन्तिम दिन शुक्रबार मात्र बैंकहरुले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकबाट १९ अर्ब ३० करोड स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो महिना असोजको दोस्रो सातामा बैंकहरुमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । त्यसैगरी यो साताको मंगलबार मात्र बैंकहरुमा करिब १८ अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

असोज महिना लागेपछि बैंकिङ प्रणालीमा निक्षेप क्रमिक रुपमा थपिएको भएपनि कर्जा प्रबाह दरलाई बैंक वित्तीय संस्थाले कम गर्न नसक्दा तरलता अभावको समस्या कायम रहेको छ ।

तरलता समस्या मात्र नभई पछिल्लो समयमा बैंकहरुमा कर्जा लगानी योग्य रकमको समेत अभाव देखिन थालेको बैंकहरुले बताउन थालेका छन् ।

असोज महिनाको दोस्रो सातामा बैंकहरुले ३८ अर्ब निक्षेप संकलन गर्दा ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । त्यसैगरी यो साताको मंगलबार १८ अर्ब निक्षेप संकलन गर्दा ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले पूँजी, कर्जा तथा निक्षेप अनुपात ८५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाको सट्टामा कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गरेपछि तरलतासँगै कर्जा लगानी योग्य रकमको अभाव देखिन थालेको हो । बैंकहरुमा तरलता अभावको समस्या बढ्दै गएपछि निक्षेप बढाउनका लागि असोजमा ब्याजदर बढाएपनि त्यसको सकारात्मक प्रभाव पर्न सकेन । बैंकहरुले कर्जा प्रवाहको गतिलाई सुस्त नबनाउने हो भने नयाँ निक्षेप तान्नका लागि आगामी महिनामा पनि ब्याजदर बढाउनुको बिकल्प नभएको बैंकहरुले बताउँदै आएका छन् ।

चालु आर्थिक वर्ष सुरु भएदेखि यो साताको मंगलबारसम्ममा बैंकहरुमा कुल ४८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर, यो अवधिमा बैंकहरुले २ खर्ब ४० अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरुले स्रोतको सुनिश्चितता नगरी आक्रामक रुपमा कर्जा लगानी गर्दा तरलता अभाव तथा कर्जा लगानी योग्य रकम अभावको समस्या जटिल बन्दै गएको हो ।

यो साताको मंगलबारसम्ममा बैंकहरुले कुल ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३९ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आव सुरु भएदेखि शुक्रबारसम्ममा बैंक वित्तीय संस्थाले तरलता व्यवस्थापनका लागि ६ खर्ब ९४ अर्ब ५४ करोड रुपौयँ स्थायी तरलता सुविधा उपभोग गरेका छन् ।