बीमा क्षेत्रमा “नेपाल वित्तीय प्रतिवेदन मान” कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

बीमा क्षेत्रमा “नेपाल वित्तीय प्रतिवेदन मान” कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न



काठमाडौं – नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अन्तरक्रिया कार्यक्रम यही माघ २६ गते काठमाडौंमा सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपालको बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि भएका तयारी, आउनसक्ने समस्या र समाधानका उपाय लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल वित्तीय प्रतिवेदन मान लागू गर्ने प्रतिवद्धता बीमा कम्पनीहरूले व्यक्त गरेको उल्लेख गर्दै समस्या पहिचान गरी आआफ्नो भूमिका बर्गीकरण गरी अघि बढेमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सकिने बताए ।

अध्यक्ष सिलवालले भने, ‘नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्टिय मापदण्ड अनुसार अगाडि बढ्नुर्छ, नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनको तयारीका लागि समय दिइएको छ, अब कुनै दुविधा नराखी तोकिएको समयमैं कार्यान्वयनमा जानुपर्छ ।’