काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । मंगलबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले नेपालको जलविद्युत् क्षेत्रमार्फत विकास र समृद्धिको लक्ष्य हासिल गर्न ठूला जलविद्युत् आयोजनाको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । दाहालले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गरेका छन् । स्वास्थ्य बीमालाई केन्द्रमा राखी एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्डअनुसार स्वास्थ्य प्रणालीको विकासमा जोड दिइने पनि उनले स्पष्ट पारे ।
सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा भएका कार्य र प्राप्तिको सांकेतिक विवरण आउने बताउँदै नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको देखिने बताए । उनले भने, ‘सकिन्नँ, बन्दैन, हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ। एकथरि तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्। यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ। आदरणीय जनसमुदाय, म आज यो प्रश्नबाट सम्बोधन सुरु गर्न चाहन्छु कि के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्णरूपमा सम्भावनाहीन बन्दै गएको हो ?’
प्रतिक्रिया