तथ्यांकमा नअटाएको महँगी

तथ्यांकमा नअटाएको महँगी

बढ्दो महँगी, पत्यार नलाग्ने तथ्यांक


गत वर्षको दसैंताका नेपाली बजारमा जिरा मसिनो चामलको उपभोक्ता मुल्य १८ सय देखि २ हजार थियो । सो मूल्य यो वर्षको दसैंमा बढेर २ हजारदेखि २५ सयसम्म आइपुग्यो । यसैगरी गत वर्षको दसैंताका असोज महिनामा नेपाल बजारमा खाने तोरीको तेलको औसत खुद्रा मूल्य २ सय ५० देखि ३० सय रूपैयाँ थियो भने यो वर्षको असाजमा सो मूल्य ४ सय हाराहारी पुगेको नेपाली खुद्रा व्यवसायी संघले बताएको छ ।

आम मानिसको दैनिकी र बजार भाऊसँग प्रत्यक्ष सम्बन्ध पेट्रोलियम पदार्थको मूल्य झनै अकाशिएको छ । अहिले पेट्रोल प्रतिलिटर खुद्रा १ सय ७२ रूपैयाँमा बिक्री भइरहेको छ । हवाइ यात्रा उस्तै महंगीएको छ । विश्व बजारमा आएको कोरोना महामारपछि नेपाली बजारमा निरन्तर महंगी बढिरहेको उपभोक्ताहरू बताउँछन् । बजारमा रोजगारी र ज्यालादर घटिरहेको यो बेलामा निरन्तर बढिरहेको महंगीको मारमा उपभोक्ताहरू परिरहेका उपभोक्ता अधिकारकर्मी माधव तिम्सिना बताउँछन् । उनी भन्छन्, ‘पछिल्ला वर्षहरूमा निरन्तर दैनिक अत्यावश्यक वस्तु तथा सेवाको मूल्य बढिरहेको छ ।’

तर, तथ्यांकले भने बजारमा महंगी घटेको देखाउँछ । नेपाल राष्ट्र बैंकको पछिल्ले तथ्यांकले भन्छ, चालू आर्थिक वर्षको तेस्रो महिना असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत कायम छ ।’ यो गत वर्षको समिक्षा महिनाको भन्दा १ प्रतिशत कम हो । अर्थात गत आर्थिक वर्षको असोजमा वार्षिक बिन्दूगत मुद्रा ८.५० थियो । यसैगरी अघिल्लो महिना अर्थात् भदौमा पनि यस्तो मुद्रास्फीति ७.१९ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ ।

यो तथ्यांकले नेपाली बजारमा पछिल्लो समय महंगी घटेको देखाउँछ । अर्थात् नेपाल राष्ट्र बैंकले हरेक महिना निकाल्ने मुद्रास्फीतिले बजारको मूल्य बृद्धि दरको मापन गर्छ । यो नै नेपालको महंगी दर मापन गर्ने आधिकारिक तथ्यांक हो ।



उपभोक्ताले उपभोग गर्नुपर्ने वस्तु तथा सेवा मूल्य ‘ढाड सेकिने’ गरी चर्किएको मूल्यवृद्धिको सूचक चाहिँ किन कम देखिन्छ त ? अर्थशास्त्रीहरू भन्छन्, “राष्ट्र बैंकको बजार मूल्याकंन गर्ने विधि नै भरपर्दो नभएको हो कि !’



अर्थशास्त्रको सिद्दान्तअनुसार कुनै पनि देशका जनताले दैनिक तथा आवधिक रूपमा उपभोग गर्ने वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्थालाई मुद्रास्फीति हो । अर्थात् बजारमा बढेको वा घटेको महंगी भनेको यही हो । नेपाल राष्ट्र बैंकले हरेक महिना यस्तो तथ्यांक निकाल्छ । यही तथ्यांकका आधारमा बजार कस्तो छ भने विश्लेषण गर्ने गरिन्छ ।

तर, नपाल राष्ट्र बैंकले निकाल्ने मुद्रास्फीतिको तथ्यांकले बजारको वास्तविकता मापन गर्न नसकेको अर्थशास्त्रीहरू बताउँछन् । अर्थशास्त्री गोविन्द नेपाल भन्छन्, ‘हाम्रो तथ्यांक नै विश्वास गर्नयोग्य छैन । किनभने सामान्यतया बिश्व बजारको अवस्था हेर्दा ५ देखि १० प्रतिशतको मुद्रास्फीति त्यति धेरै मानिदैन । तर, हाम्रो मुद्रास्फीति १० प्रतिशतभन्दा खासै नाघेको छैन । तर, उपभोक्ताहरूले भने महंगीदर दिनहुँ बढी खेप्नुपरेको छ । बजार मूल्य अनियन्त्रित छ ।’

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटीगभर्नर चिन्तामणि शिवाकोटीको बुझाइमा पनिसरकारी तथ्यांकले वास्तविकता महशुस गर्न सकेको छैन । ‘नेपाल राष्ट्र बैंकले आफ्नो काम त गरिरहेको नै छ । तर यहाँको मुद्रास्फीति तथ्यांकमा मात्रै सीमित छ । वास्तविक उपभोक्ताले महशुस गर्न गरेको बजारको अवस्था यसलायृ मान्न सकिदैन । शिवाकोटीले भने ।

नेपाल राष्ट्र बैंकले मुद्रास्फीति निकाल्ने बिधि ठिकै भए पनि मुद्रा स्फीतिको मापनका लागि राष्ट्र बैंकले तोक्ने गरेका प्रतिनिधिमूलक बजारबाटै सत्य कुरो नआउँदा यस्तो समस्या भएको बताउँदै शिवाकोटी बताउँछन् । उनी भन्छन्, ‘ राष्ट्र बैंकले काम नगरेको हेइन । हाम्रा प्रतिनिधिमूलक बजारबाटै सत्य कुरा आउँदैन कि । त्यसमा फ्याक्ट चेक पनि हुँदैन । आवधिक रूपमा आएका मूल्यलाई आधार मानी तथ्यांक निकालिन्छ । समस्या त यही छ नि ।’

गत आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत कायम थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो भने आव २०७७/०७८ वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशतमा कायम थियो ।


यस्तो छ, मुद्रास्फीति मापन गर्ने विधि


नेपाल राष्ट्र बैंकले आवधिक रूपमा केही नमुना स्थानीय तहमा पारिवारिक बजेट सर्वेक्षण गर्छ । उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा हुने परिवर्तनलाई समावेश गर्न राष्ट्र बैंकले प्रत्येक १०/१० बर्षमा पारिवारिक बजेट सर्वेक्षण गरी उपभोक्ताको आम्दानी र खर्चको यथार्थ संरचनाका आधारमा परिवर्तन गर्दै आएको छ ।

सो सर्वेक्षणअनुसार कुनै पनि घरपरिवारले किन्ने वस्तु तथा सेवाको छनौट गरिन्छ । सर्वेक्षणमा अधिकांश घरपरिवारको बढी छनोटमा पर्ने वस्तु तथा सेवाको छनोट गर्ने गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसपछि उपभोक्ता मूल्य सूचकांक गणनाका लागि प्रतिनिधिमूलक बजार केन्द्र तोकिन्छन् ।

पारिवारिक सर्वोक्षणबाट छानिएका वस्तु तथा सेवाहरूलाई निर्धारित बजार केन्द्रबाट मूल्य संकलन गरिन्छ । त्यहाँबाट फर्मुलाका आधारमा मुद्रास्फीति निकालिन्छ । फर्मुअनुसार कुनै एक समुहको तोकिएको अवधिको शुरुवाती मूल्यलाई अन्तिम मुल्यबाट घटाइन्छ । उक्त नतिजालाई शुरूवाती मितिले भाग गरी १०० ले गुणा गरी मुद्रास्फीति निकालिन्छ ।

अहिले नेपाल राष्ट्र बैंकले पारिवारिक बजेट सर्वेक्षण २०७०/०७१ ले मुद्रास्फीतिका आधारमा मुद्रास्फीति निकालिन्छ । उक्त पाँचौं बजेट सर्वेक्षणका आधारमा राष्ट्र बैंकले र २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरी ६० बजार केन्द्र तोकेको छ भने ४ सय ९६ वटा वस्तु तथा सेवालाई मूल्यांकन गर्छ । उक्त सर्वेक्षणले छनोट गरेका वस्तुमा १ सय ६२ वटा खाद्यवस्तु, १४ वटा पेय पदार्थ र ३ सय २० वटा गैरखाद्यवस्तु राखिएका छन् । राष्ट्र बैंकका अनुसार छनौटमा परेका बजार केन्द्रहरूबाट साप्ताहिक, मासिक तथा त्रैमासिक रूपमा वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिन्छ । यसरी मूल्य संकलनका लागि राष्ट्र बैंकले केही शिक्षकलाई जिम्मा दिएको छ ।

यसरी मूल्य संकलन गर्दा वास्तविकता नआउने अर्थशास्त्रीहरूको दाबी छ । राष्ट्र बैंकले भने बजेट सर्वेक्षणले छानेका वस्तु तथा सेवाले आम उपभोक्ताको ९५ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने भएकाले मुद्रास्फीतिको विधिमा समस्या नभएको बताउँछ ।

मुद्रास्फीति र मूल्यबृद्धि

अर्थशास्त्रीय परिभाषाले भनेको मुद्रास्फीति मूल्यवृद्धि हो । आममानिसले दैनिक तथा आवधिक रूपमा उपभोग गर्ने वस्तु तथा सेवाहरूको औसत मूल्यस्तरमा भएको निरन्तर मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । तर, यही मुद्रास्फीतिले समग्र मूल्यवृद्धिको गतिलाई चित्रण गर्छ । बजारमा केहीको मूल्य घटे पनि अधिकांश वस्तु र सेवाको निरन्तर मूल्यवृद्धि हुने अवस्था मुद्रास्फीति हो ।
मुद्रास्फीति पैसाको अवमूल्यन भएको बेला बढ्छ ।

उपभोक्तासँग पैसा बढी भएको बेला मागअनुसारको आपुर्ति नभए पनि मुद्रास्फीति बढ्छ । यस्तो बेलामा पैसाको अवमूल्यन हुन्छ । मुद्रा नै कमजोर हुँदा थोरै वस्तुका लागि धेरै पैसा तिर्नुपर्ने हुन्छ । यसको अर्थ मागअनुसार उत्पादन र आपुर्ति हुन नसकेर पैसा कमजोर बन्न जाने हो ।

अर्थशास्त्रको सामान्य सिद्दान्तकाअनुसार माग जति बढ्यो आपुर्ति बढाउनुका लागि उत्पादन पनि बढाउनुपर्छ । तर, यही आपुर्ति उत्पादन कम भएका कारण कम भयो भने मूल्य बृद्धि हुने हो ।

उदाहरणका लागि बजारमा मौसमी तरकारी पर्याप्त भएको बेला मूल्य कम हुन्छ । बजारमा पर्याप्त आपूर्ति भइरहँदासम्म् त्यो मूल्य लगभग स्थििर हुन्छ । तर, बजार अत्यधिक माग बढ्न थाल्यो र आपुर्ति हुन सकेन भने मूल्य बढ्न जान्छ । मुद्रास्फीतिले निश्चित अवधिमा यही मूल्य बृद्धिको अवस्था मापन गर्छ ।