आज महानवमी, नवदुर्गाको पूजा आराधना गरेर मनाइँदै


काठमाडौं । नेपालीको महान् पर्व बडादसैँअन्तर्गत आज आश्विन शुक्ल नवमी अर्थात् महानवमी। देशभरका शक्तिपीठ, देवीमन्दिर, कोटघर तथा घरघरमा नवदुर्गाको विधिपूर्वक पूजा–आराधना गरी महानवमी मनाइँदैछ।

महानवमीका दिन नवदुर्गामध्ये माता सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ। नवदुर्गाको पूजा गर्दा सुख, शान्ति, समृद्धि र सिद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यस दिन दुर्गा भवानीको विशेष आराधना गरी परिवार तथा समाजको कल्याण र समृद्धिको कामना गरिन्छ।

महानवमीका अवसरमा देशभरका शक्तिपीठमा विशेष पूजाआजा गरिन्छ। दुर्गति नाश र शक्ति प्राप्तिको प्रतीकका रूपमा विभिन्न शक्तिपीठमा विधिपूर्वक बलिपूजा तथा सात्त्विक पूजा गर्ने चलन छ। कतिपय स्थानमा राँगा, बोका, भेडा, कुखुरा तथा हाँसलगायतको पञ्चबलि दिने परम्परा छ भने सात्त्विक पूजा गर्नेहरूले कुभिण्डो, केरा, काँक्रोलगायतका फलफूल चढाउने गर्छन्।

यस दिन कन्यालाई देवीका विभिन्न स्वरूप मानेर पूजा गर्ने परम्परासमेत छ। नवकुमारीका रूपमा कन्याहरूको पूजा गरी उनीहरूलाई भोजन तथा दक्षिणा दिने चलन छ। धार्मिक मान्यताअनुसार कन्यापूजाले देवीको कृपा प्राप्त हुने र परिवारमा सुख–समृद्धि कायम हुने विश्वास गरिन्छ।

महानवमीका दिन राज्यशक्ति र राष्ट्रिय सुरक्षासँग जोडिएका धार्मिक परम्परालाई समेत विशेष महत्त्व दिइन्छ। शक्तिकी अधिष्ठात्री देवीका रूपमा तलेजु भवानीको विशेष पूजा गरिन्छ। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक महानवमीका दिन सर्वसाधारणका लागि खुला गरिने परम्परा छ।

बडादसैँको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको महानवमीले नेपाली समाजमा आस्था, परम्परा र सांस्कृतिक निरन्तरताको सन्देश दिने गरेको छ।