भोटेकोशी बाढी अपडेट: १ हजार ३ सय ४२ जनाको शव फेला


काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिवार बिहान ८ बजे सम्म १ हजार ३ सय ४२ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १ सय ६० जना, नुवाकोटमा १ सय ९२ जना, धादिङमा ६७ जना, चितवनमा ३ सय ६० जना, गोरखामा ७३ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम २ सय ३० जना गरी १ हजार ३ सय ४२ जनाको शव फेला परेको हो।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय २२ महिला, ३ सय ५५ पुरुष र ४ सय ५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका १ हजार १२ गरी कुल २ हजार २ सय ७२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार २ सय ७० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। 

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ८६ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार २ सय ४० जना व्यक्तिहरूलाई राखिएको छ। 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।