काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि निरन्तरता दिने भएको छ। कम्पनीका अनुसार प्रभावित क्षेत्रमा सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क सेवा भदौ २० देखि २६ गतेसम्म उपलब्ध हुनेछ।
यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गतेदेखि तीन दिनका लागि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा दिने घोषणा गरेको थियो। त्यसपछि सेवा अवधि सात दिन थप गर्दै भदौ १९ गतेसम्म पुर्याइएको थियो। एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा प्रभावित समुदायलाई सहज सञ्चार उपलब्ध गराउन निःशुल्क सेवा थप गरिएको बताए।
‘यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः सात दिन थप गर्ने निर्णय गरेका हौं,’ दत्ताले भने। एनसेलका अनुसार बाढीका कारण अवरुद्ध भएका २७ वटा टावरमध्ये ९२ प्रतिशत अर्थात् २५ वटा टावर पुनः सञ्चालनमा आइसकेका छन्। कम्पनीले बाँकी टावर सञ्चालनमा ल्याउन आवश्यक काम र समन्वय गरिरहेको जनाएको छ। रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ। उत्तरगया गाउँपालिका–तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पुर्याएर सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार निःशुल्क सञ्चार सेवाले प्रभावित सर्वसाधारणलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा खोज, उद्धार र राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज बनाउनेछ। एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै सम्बन्धित निकायका सूचनामूलक सन्देशहरू एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ। यसैबीच, बाढी गएको भोलिपल्टै एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनीले १ रूपैयाँ करोड सहयोग गरेको थियो। उक्त रकम खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले प्रदान गरिएको एनसेलले जनाएको छ।






About Us
प्रतिक्रिया