एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा


काठमाडौं – अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मानस्वरूप पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा उपलब्ध गराइएको छ। जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन शुक्रबार जापान प्रस्थान गरेको नेपाली कराते टोलीले उक्त सुविधा पाएको हो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलमा एसियाली खेलकुदमा सहभागी नेपाली खेलाडीका लागि विमानस्थलको भीआईपी कक्ष प्रयोगको व्यवस्था गरिएको हो।

खेलाडीप्रतिको सम्मान र प्रोत्साहनस्वरूप पहिलोपटक विमानस्थलमा ‘भीआईपी’ पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी लागेको मन्त्री पोखरेलले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली खेलाडीलाई शुभकामना दिँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीप्रति सम्मान व्यक्त गर्न यो पहल गरिएको उल्लेख गरेका छन्।

राष्ट्रिय खेलाडीको सम्मान र प्रोत्साहनका लागि गरिएको यस व्यवस्थाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीको मनोबल बढाउन सहयोग पुग्ने मन्त्री पोखरेलको विश्वास छ। उनले नेपाली खेलाडीले आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरेका छन्।

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो। नेपाली कराते टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ। प्रशिक्षणपछि टोली सेप्टेम्बर १७ मा टोकियोबाट एसियाली खेलकुद आयोजना हुने नागोया प्रस्थान गर्नेछ। कराते प्रतियोगिता सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछ।

नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नेछिन्।टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बू सहभागी हुनेछन्। टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन्।

नेपाली कराते टोलीलाई राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

राखेपका पूर्व सदस्य–सचिव तथा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायत पनि टोलीलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए।