काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत कार्य सरकारले तीव्र बनाएको छ। बाढीबाट क्षतिग्रस्त २० वटा पुलको मर्मत कार्य युद्धस्तरमा अघि बढाइएको हो।
यही भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो। बाढीपछि सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका क्रममा ५३ क्षतिग्रस्त पुलमध्ये २० वटा मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।
सरकारले ती पुलको मर्मतका लागि भदौ १७ गते कार्यादेश जारी गरेको थियो। कार्यादेशपछि महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मत कार्यमा प्रगति भएको छ।
सरकारका अनुसार यी पाँच वटा पुलको मर्मत कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल मर्मतपछि बाढीबाट प्रभावित क्षेत्रका स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
यसैगरी, मर्मतबाट सम्भव नभई पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ। पुनर्निर्माण प्रक्रिया अघि बढेसँगै बाढीबाट प्रभावित पुलहरू क्रमशः सञ्चालनमा ल्याउने तयारी सरकारको छ।






About Us
प्रतिक्रिया