प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानिजीबीच टेलिफोन वार्ता


काठमाडौं – अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन संवाद गर्दै हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्त्वपूर्ण रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साथै, उनले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले देखाएको सहयोगको प्रशंसा गरे। खासगरी अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गरे।

अल्बानिजले अस्ट्रेलिया सरकारले मानवीय सहायता सामग्री, उद्धार उपकरण तथा प्राविधिक विशेषज्ञसहितको सहयोग उपलब्ध गराइरहेको जानकारी दिए। साथै, बाढीमा परी सम्पर्कविहीन भएका अस्ट्रेलियाली नागरिकको खोजीमा हरसम्भव प्रयास जारी राख्ने र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।