काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको छ। प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विपद्मा परी हालसम्म १ हजार २८७ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवाबाट १४०, नुवाकोटबाट १८४, धादिङबाट ६३, गोरखाबाट ७२, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २१९, नवलपरासी पश्चिमबाट २१२ र चितवनबाट ३५९ वटा छन्।
फेला परेका शवमध्ये हालसम्म ९६ जनाको सनाखत भएको छ। विपद्पछि ५ हजार ८३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यस्तै, हालसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको छ।
सरकारले प्रभावित जिल्लामा नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ प्रदान गरिएको छ। साथै, प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई पनि प्राथमिकता दिइएको छ। काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। त्यसैगरी, सशस्त्र प्रहरीले १६३ वटा हवाई उडानमार्फत नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याएको छ। उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनको काम पनि अघि बढाइएको प्राधिकरणले जनाएको छ।






About Us
प्रतिक्रिया