गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने, बोनस र नगद लाभांश कति ?


काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा लाभांशबापत लाग्ने करसमेत समावेश हुनेछ। हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। बैंकको सञ्चालक समितिको ३५१औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

१० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्ने बैंकले जनाएको छ।बैंकले आगामी साधारणसभाबाट लाभांशसम्बन्धी प्रस्ताव पारित भएपछि शेयरधनीलाई वितरण गर्ने जनाएको छ।