रसुवा बाढीपीडितका लागि मोती दुगडको १ करोड १ लाख सहयोग


काठमाडौं – सेन्चुरी ग्रुपका अध्यक्ष तथा पूर्वमन्त्री मोती दुगडले रसुवा बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ बराबरको राहत सहयोग हस्तान्तरण गरेका छन्। सेन्चुरी ग्रुप (दुगड स्पाइसेस) का तर्फबाट दुगडले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरणपछि दुगडले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर मानवीय दृष्टिकोणबाट राहत, उद्धार र पुनःस्थापनामा केन्द्रित हुन आग्रह गरे। उनले संकटमा परेका नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको बताउँदै आफू छिट्टै बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझ्ने जानकारी दिए। आवश्यकता हेरेर आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता उनको छ।