काठमाडौं – सरकारी कागजात किर्ते तथा सरकारी राजश्व हिनामिनासम्बन्धी कसुरमा अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र जाहेरीले नेपाल सरकार वादी र राजीव महतोसमेत प्रतिवादी रहेको लिखतसम्बन्धी कसुरको अनुसन्धानका क्रममा महतोलाई पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा महतोले अध्यागमन विभागमा कार्यरत रहँदा नेपाली पोर्ट प्रणालीमा रहेको आफ्नो पहुँच तथा पदको दुरुपयोग गरी कानुनबमोजिम भिसा शुल्कसमेत प्राप्त नगरी भिसा जारी गरेको र सरकारी राजश्व हिनामिना गरेको खुलेको प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार लक्जेम्बर्गका एक नागरिकले नियमानुसार १ लाख ५९ हजार रुपैयाँ राजश्व दाखिला गरी प्राप्त गरेको आवासीय भिसालाई महतोले ट्राभल डकुमेन्ट प्रणालीमार्फत बदनियतपूर्ण ढंगले अमेरिकी नागरिकको नाममा गैरकानुनी रूपमा सिर्जना गरी स्वीकृत गरेर भिसा जारी गरेका थिए।
महतोमाथि सीआईबीले सरकारी कागजात किर्ते तथा लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर महतोलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीबाट पक्राउ गरिएको हो।






About Us
प्रतिक्रिया