माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङभित्र थप अगाडि बढ्ने प्रयास जारी


काठमाडौं- माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र (६० मेगावाट) को बाढीबाट प्रभावित पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। उद्धारका क्रममा टनेलको मुखबाट करिब १५ फिटभित्रसम्म रहेको भग्नावशेष हटाएर नेपाली सेना त्यहाँसम्म प्रवेश गर्न सफल भएको छ। टनेलभित्र थप अगाडिसम्म पुगेर खोज तथा उद्धार गर्ने प्रयास निरन्तर भइरहेको जनाइएको छ।

यसैगरी, दिनरात निरन्तर काम गरेर टनेलमा जमेको पानी निकास गर्नसमेत सम्भव भएको छ। पानीको निकाससँगै सुरुङभित्र थप प्रवेश गरी सम्भावित प्रभावित व्यक्तिको खोजी गर्ने कार्यलाई सहज बनाउने प्रयास भइरहेको छ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक कुनै पनि सामान तथा खाद्यान्नको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्थापन, सामानको प्राप्ति, खर्च तथा त्यसको अभिलेख व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ। यसका लागि एसएमटी बैठकबाट आवश्यक व्यवस्थापन र समन्वय गर्ने निर्णय भएको हो।

यसैबीच, खोज तथा उद्धार समितिसँग समन्वय गरी नेपाल विद्युत प्राधिकरणको सम्पर्कमा आएका तथा सम्पर्कमा नआएका सम्पूर्ण कर्मचारी र कामदारको विवरण अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको छ। सम्पर्क हुन नसकेका कर्मचारी तथा कामदारका परिवारजनको पीर, मर्का र गुनासो सुन्ने तथा आवश्यक सहयोग र समन्वय गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा छुट्टै समिति गठन गर्ने निर्णय गरिएको छ।

हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त नेपाल विद्युत प्राधिकरणको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रको पावर हाउस साइटसम्म पुग्ने प्रबन्धसमेत मिलाइएको छ।